काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिसभामा १७४ सांसद संख्या छ । संसदीय दलमा कुनै एक नेता विशेषको स्पष्ट बहुमत छैन । सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद रहेका छन् । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बढी संख्या छ । सांसद र स्थायी कमिटि सदस्य संख्याका हिसाबले माधवकुमार नेपाल तेस्रो नम्बरमा छन् । बामदेव गौतम चौंथो नम्बरमा छन् । त्यसपछि मात्र झलनाथ खनाल पक्षधर छन् ।
पार्टी वरियतामा तेस्रो नम्बरमा रहेपनि झलनाथ खनाल पद्धति र सिद्धान्तको राजनीति गर्ने नेताको परिचय बनाएकाले गुटगत राजनीतिमा उनी कमजोर मानिन्छन् । त्यसैले उनी वामदेव गौतमभन्दा पकडका हिसाबले पछाडि छन् ।
संसदीय दलमा १७४ कुल संख्यामध्ये केपी शर्मा ओलीको पक्षमा ८२ रहेको उनी पक्षधरको दाबी रहँदै आएको छ । तर, पछिल्लो समय ओलीलाई पूर्व माओवादीका केही नेताहरुको बलियो समर्थन देखिइसकेको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझीले ओलीलाई खुलेर समर्थन गरिसकेका छन् । प्रदेश २ मा माधव नेपालसँग कहिले राम्रो सम्बन्ध नभएका रौतहटका प्रभु शाहले पनि ओलीको विकल्प प्रचण्डबाहेक कोही नहुने भनिसकेका छन् । उनको पनि ओलीलाई समर्थन रहेको बुझिएको छ ।
अहिले रामबहादुर थापा बादल खुलेर ओलीको पक्षमा गइसकेका छन् । उनी ओली इतर समूहको बैठकमा गएनन् । सचिवालय बैठकमा ओलीको खुलेरै समर्थन गरे । यसरी पूर्व माओवादीको ठूलो समूह ओलीसँग नजिकिएको छ ।
ओलीबाट असन्तुष्ट भएकामा महासचिव विष्णु पौडेल देखिएका छन् । तर, उनले ओली गुट छाडिसकेको देखिएको छैन । ओलीविरोधी गुटहरुको बैठकमा भने सरिक हुँदै आएका छन् ।
अब नेकपाभित्र ओलीविरुद्ध संसदीय दलमा भोटिङ भएमा प्रचण्ड र माधवकुमार नेपाल दरिलोसँग एकसाथ उभिनुपर्छ । त्यस अवस्थामा भने यताउता हुनसक्छ । तैपनि, ओलीले ती गुटका कतिपय नेता र सांसदलाई समेत पकडमा पारिसकेको बुझिएको छ ।
सचिवालयमा भने प्रधानमन्त्री ओली अल्पमतमा छन् । उनको पक्षमा ईश्वर पोखरेल छँदैछन् । पछिल्लो समय बादल पनि देखिएका छन् । विष्णु पौडेल कता छन् स्पष्ट हुनसकेको छैन ।
स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण्ड र माधव नेपालको पक्षधर छन् । त्यहाँ पनि ओली अल्पमतमा छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १३ छन् । ओली पक्षका पनि १३ नै छन् । नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका थिए । एकीकरण भएको दुई वर्ष पूरा भइसक्दा धेरै उथलपुथल नभएपछि अहिलेको राजनीतिक तरंगले फेरबदल ल्याउने देखिएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट थायी समिति सदस्यहरु देव गुरुङ,टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,वर्षमान पुन,शक्ति बस्नेत,जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा छन्।
माधव र वामदेव गौतमनिकट स्थायी समिति सदस्यहरु भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, घनश्याम भुसाल,भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,रघुजी पन्त,बेदुराम भुसाल हुन् ।
ओली निकट स्थायी समिति सदस्यहरुमा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, केशव बडाल, पृथ्वी सुब्बा गुरुङलगायत छन् ।
केन्द्रीय समितिमा पूर्व माओवादीको ४३ प्रतिशत सदस्य छन् । पार्टी एकीकरणका बखत ४० प्रतिशत भएपनि पूर्व माओवादी छाडेर अन्य दलमा गएकाहरुलाई भित्राएर केन्द्रीय सदस्य बनाइएको थियो । यसरी कुनैपनि नेता स्पष्ट बहुमतमा नभएको अवस्था छ । अर्को गुटको साथमा मात्र बहुमत पुग्ने अवस्था छ ।