Logo

५५ हजारको कोरोना परिक्षण : कति छन् जोखिममा ?



वैशाख १७, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ वटा परीक्षण भएको छ । हालसम्म ११ हजार ५ सय २४ जनाको पिसीआर परीक्षण र ४५ हजार ६ सय ६५ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ४८८१, प्रदेश दुईमा ५२९८, बागमति प्रदेशमा ८२१७, गण्डकी प्रदेशमा ५३४३, प्रदेश पाँचमा ३६७१, सुदूरपश्चिम प्रदेशमा १२,२८६ र कर्णाली प्रदेशमा ५२६९ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २२ हजार ९ सय १ व्यक्ति छन् । आइसोलेसनमा ८७ जना सम्भावित कोरोना संक्रमित रहेका छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ८ सयभन्दा बढि कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २८ हजार ६ सय ९५ रहेको छ । तिमध्ये ३ सय १० जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ३ सय ९७ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्