Logo

महाकालीमा पौडेर अझै नेपाल भित्रिँदै



काठमाडौँ, १८ वैशाख । नेपाल र भारतका विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमवासी विभिन्न तरिकाले घर फर्किन थालेका छन् । भारतबाट आउनेहरू महाकाली नदीमा जोखिम मालेर पौडी खेलेर आइरहेका छन् ।

कञ्चनपुर, बैतडी र दार्चुलासँग जोडिएका भारतीय सीमामा झण्डै दुई हजार नेपाली रहेको बताइन्छ भने काठमाडौँ लगायतका सहरबाट आउनेक्रम पनि तीव्र रहेको छ । बैतडी समाचारदाताका अनुसार १६ जना नेपाली महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका छन् ।
बुधबार बिहान ९ः३० बजे महाकाली तरेर दार्चुला जिल्ला भएर नेपाल प्रवेश गर्ने १६ जनामध्ये बैतडीको डिलासैनी गाउँपालिका १४ जना, पुरचौडी नगरपालिकाका एक र अर्का एक जना दार्चुलाका रहेका छन् । एक महिनादेखि सीमानाका भारतीय क्वारेन्टाइनमा रहेमध्येका १६ जना महाकाली नदीमा पौडी खेलेर तथा केही ट्युबबाट तरेर आएको बताइएको छ ।

काठमाडौँ सहितका सहरबाट आठ हजार आए
लम्की समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला घर भएर कामका सिलसिलामा काठमाडौँ सहितका सहरमा गएका आठ हजार दुई सय जना घर फर्किएका छन् ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटीले काम तथा अध्ययनका लागि अन्यत्र गएकाहरू धमाधम फर्किएका हुन् । यसैबीच कैलालीका विभिन्न स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन खाली हुन थालेका छन् । भारत लगायत नेपालका विभिन्न ठाउँमा काम गर्न गएकालाई फर्किआउँदा क्वारेन्टाइनमा राखिने गरिएकोमा जोखिम नभएका ठाउँबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नपर्ने भएपछि क्वारेन्टाइन खाली हुनथालेका हुन् ।

जोशीपुर, जानकी गाउँपालिका, घोडाघोडी नगरपालिकाका क्वारेन्टाइन खाली भएका छन् । लम्कीचुहा, भजनी, गौरीगङ्गा, बर्दगोरिया, मोहन्याल लगायतका नगरपालिका र गाउँपालिकामा समेत नयाँ आउनेलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot