Logo

एडीबीलाई सहयोग बढाउन आग्रह



काठमाडौँ, १८ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडा र एसियाली विकास बैङ्क (एडीबी)का अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड–१९ का कारण परेको असर र त्यसमा एडीबीले गर्नसक्ने सहयोगबारे वार्ता भएको छ ।

टेलिफोन वार्तामा अर्थमन्त्री र बैङ्कका अध्यक्षबीच कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एडीबीले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैङ्कले गर्नसक्ने थप सहयोगका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । वार्तामा अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो सङ्क्रमण हुन नपाएको जानकारी गराउँदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न एडीबीले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताका रूपमा प्रदान गर्न लागेकामा धन्यवाद व्यक्त गर्नुभयो ।

अर्थमन्त्रीले एडीबी नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैङ्कले ऊर्जा, यातायात, खानेपानी र सहरी विकासलगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसा गर्नुभएको जनाइएको छ । साथै नेपालले अङ्गीकार गरेको सङ्घीय प्रणालीको प्रतिफल आमनागरिकले पाउनसक्ने तुल्याउन सङ्घीय संरचनाका सबै संस्था बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनुपर्नेमा समेत जोड दिएका छन् । अर्थमन्त्रीले यस सन्दर्भमा स्थानीय तहहरूबीच अन्तरआबद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैङ्कबाट सहयोग हुने अपेक्षा पनि गरेका छन् । अर्थमन्त्रीले कोभिड–१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउँदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैङ्कको थप सहयोगको अपेक्षा गरेका छन् ।

उनले कोरोना सङ्क्रमणबाट वैदेशिक रोजगारीका अवसर खुम्चिँदै जाँदा युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवं व्यावसायिक कृषि र स्थानीय पूर्वाधार एवं ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकाले यी क्षेत्रमा सहायता बढाउन एडीबीलाई आग्रह गरेका छन् । एडीबी अध्यक्ष आसाकावाले कोभिड–१९ को नियन्त्रणमा नेपालले चालेका कदमको प्रशंसा गर्दै कोभिड–१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैङ्कले नेपाललाई सहुलियतपूर्ण ऋण एवं निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैङ्कले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैङ्कले ऊर्जा, यातायात, नागरिक उड्डयन, सङ्घीयतामा सेवा प्रवाहजस्ता क्षेत्रमा थप लगानी गर्नेबारेमा पनि जानकारी गराएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot