Logo

बेपत्ता भएको ११ दिनपछि सम्पर्कमा



सिन्धुपाल्चोक, बैशाख १८ । यही वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका–४ घर भएका सुरज अहिले आफ्नो फोन सम्पर्कमा आएको वडाध्यक्ष कालिप्रसाद तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार सुरजले आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताएका छन्। सुरजको जिउ, आँखा सबै रातो भएको गाह्रो भएको सुनाएको तामाङले जानकारी दिए । सुरज अहिले रसुवाको दुप्चेश्वर गाउँपालिका–१ स्थित सूर्यकुण्ड भन्ने स्थानमा रहेको बताइएको छ । उक्त ठाउँ चार हजार ७०० मिटर उचाइमा रहेको र हिउँ परिरहेकाले उद्धार गर्न कठिन भएको वडाअध्यक्ष तामाङले बताए ।

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनमा कार्यरत सुरज बेपत्ता भएका हुन् । वैशाख ६ गते दिउँसोसम्म परिवारको सम्पर्कमा रहेका लामाको त्यसयता परिवारसँग सम्पर्क भएको थिएन । लामो समय परिवारसँग सम्पर्क टुटेपछि गत शुक्रबार बेलुकी कम्पनीसँग कुरा भएपछि मात्र सुरजको खोजी गरिएको थियो ।

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि कम्पनीलाई जानकारीनै नदिई उनि काम छाडेर घर हिँडेको बताइएको छ । सुरज त्यहाँ केही महिनाअघि स्थापना भएको कम्पनीको मेसमा कुकको रूपमा कार्यरत रहेका थिए । कम्पनीका अनुसार उनि गोसाइँकुण्डको बाटो हुँदै घर गएको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot