Logo

ओली-प्रचण्ड सिधा टकरावमा कस्ले मार्ला बाजी



काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सिधा टकराव देखिएको छ । प्रचण्डले बुधबार बसेको सचिवालय बैठकमा ओलीको राजीनामा मागेपछि सिधा टकराव देखिएको हो ।

यसअघि ओलीविरुद्ध बामदेव गौतमको निवास भैंसेपाटी र माधव कुमार नेपालको निवास कोटेश्वरमा विरोधी समूहको बैठक बस्दै आएकोमा हिजोबाट नयाँ माहोल तयार भएको छ । अब ओली र प्रचण्डबीच सिधा टकराव सतहमा आएको छ । यसले नेकपाको भविष्यमात्र नभई राजनीतिक भविष्य पनि तय गर्ने देखिदैछ ।

प्रचण्डले ओलीको राजीनामा मागेपछि ओलीले पनि आफूले राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । उनले राजीनामा दिनुपरे पछि दिने र आफ्नो विकल्प उपाध्यक्ष बामदेव गौतम हुने जवाफ दिइसकेका छन् । ओलीले माधवकुमार नेपलालाई तेस्रो अध्यक्षको प्रस्ताव समेत गरेका छन् । यसरी ओलीले एकैपटक तीनवटा अस्त्र हानेर नेकपाभित्रको विवादलाई नयाँ मोडमा लगेका छन् ।

ओलीको नयाँ अस्त्रले विरोधी समूहमा समेत शंका उपशंका बढाइदिएको छ । हिजोको सचिवालय बैठकमा बामदेव गौतम धेरै कडा रुपमा प्रस्तुत भएनन् । रामबहादुर थापा बादल अहिलेको अवस्थामा कुनै फेरबदल नगरी मिलेर जाने प्रस्तावको पक्षमा पुगे ।

ओलीको अस्त्रले उनी अझै आक्रामक अवस्थामै छन् भन्ने देखाएको छ । प्रधानमन्त्रीबाट हट्नुनपर्ने गरी पछि मात्र राजीनामा दिने उनको पहिलो अस्त्र थियो । राजीनामा दिनुपरेमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं भन्ने उनको दोस्रो अस्त्र थियो । तेस्रो अस्त्र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने थियो । यी अस्त्रले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने मात्र नभई माधवकुमार नेपाललाई पनि रोक्ने खोजेको छ । बामदेवलाई विरोधी समूहबाट आफ्नो समूहमा तान्ने उद्देश्य निहित देखिन्छ ।

माधव नेपाललाई तेस्रो वरियतामा राखेर झलनाथ खनाललाई साइजमा ल्याउने रणनीति देखिन्छ । अहिले खनाल तेस्रो वरियतामा छन् । माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाएर ओलीले खनाललाई साइजमा ल्याउने र माधव नेपालको पनि असन्तुष्टि मेट्ने रणनीति सारेका छन् ।

एकैसाथ अस्त्रहरु फयाँकेर ओलीले प्रचण्डलाई कडा चुनौती दिएका छन् । अब पालो प्रचण्डले कस्तो अस्त्र चलाउँछन् भन्ने देखिएको छ । ओलीको पछिल्लो अस्त्रले प्रचण्डलाई प्रधानमन्त्री र पहिलो नम्बरको अध्यक्ष दुवै बन्नबाट रोक्ने देखिन्छ । अब उनका लागि निकै चुनौतीपूर्ण अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot