समाचार विश्लेषणः नेपाल कम्युनिष्ट पार्टीभित्र पाँचजना पकड बलियो भएका प्रभावशाली नेताहरु छन् । जसमध्ये बामदेव गौतम त्यस्ता नेता हुन् जो राजनीतिमा प्रभाव र पकड भइकन प्रधानमन्त्री बन्न सकेका छैनन् ।
नेकपा एमाले नै रहेको भए वामदेव राजनीतिबाट बिदा भइसक्नुपथ्र्यो या पार्टी छाडेर अन्त राजनीतिक गर्नुपथ्र्यो । एमालेको विधानमा ७० वर्षमा पार्टीको पदाधिकारी या केन्द्रीय सदस्य सम्म बन्न नसक्ने व्यवस्था थियो । माओवादीसँग एकता भएपछि वामदेव रिटायर्ड हुनुपरेन । त्यसैले पूर्व माओवादी नेताहरु आफूहरुका कारण वामदेव रिटायर्ड हुनुनपरेको भन्दै ठट्टा गर्छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली दुईपटक प्रधानमन्त्री भइसके । उनी यसपटक दुई तिहाईको सरकारको प्रधानमन्त्री सम्म बन्न पुगे जुन नेपालको इतिहासमा वीपी कोइराला पछि दोस्रो हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पहिलो संविधानसभामा दुई ठाउँमा चुनाव हारेर पनि प्रधानमन्त्री बन्ने भाग्यमानी हुन् । त्यसपछि उनको भाग्य खुल्ला जस्तो भएपनि खुलेको छैन । वरिष्ठ नेता झलनाथ खनाल पनि प्रधानमन्त्री बनिसकेका छन् । उपाध्यक्ष वामदेव गौतका लागि प्रधानमन्त्री बन्ने प्रयास अझै कठिन बन्दै आएको छ ।
राष्ट्रियसभा सदस्य बन्ने र संविधान संशोधन गरी प्रधानमन्त्री बन्ने बामदेवको रणनीतिक एकपटक चर्चामा थियो । उनी अहिले पनि यसै एजेन्डामा केन्द्रित छन् । एकपटक ओलीले यसलाई बेवास्ता गरिसके । तर, उनैले विषय प्रवेश गरेका छन् । बुधबार सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव त्यसै आएको होइन । गौतमलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । जुन सजिलो छैन । तर, ओलीले ल्याएको प्रस्तावले नेकपा विवादमा नयाँ तरंग ल्याएको छ ।
नेकपाभित्रको विवादमा बल बामदेवको कोर्टमा पुगेको छ । यसअघि माधवकुमार नेपालको कोर्टमा बल थियो । त्यतिबेला कोटेश्वरस्थित उनको निवासमा ठूलै जमघट पनि भयो । यसपटक ओलीको बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावले बल उनकै कोर्टमा पुगेको हो ।
प्रचण्ड र माधव नेपाल मिलेर मात्र ओली सरकार ढल्ने अवस्था बन्दैन । यसका लागि पकडका दृष्टिले चौंथो शक्तिशाली बामदेव गौतमको साथ अनिवार्य हुन्छ । त्यसैले ओलीले गौतमको साथ लिन नयाँ प्रस्ताव सारेका छन् । यसले नेकपाको आन्तरिक शक्तिसंघर्ष नै भिन्न ढंगले बढ्न थालेको छ ।
बामदेवले ओलीलाई साथ नदिने र प्रचण्ड र माधव नेपाल पनि एकजुट हुने हो भने ओलीलाई सत्ता टिकाउन हम्मे पर्छ । तर, गौतमको साथ मिलेमा सत्ता सुरक्षित हुने निश्चितप्रायः छ । त्यसैले बल बामदेवको कोर्टमा पुगेको छ । उनी पछिल्लो समय मौन छन् । उनको मौनतालले विभिन्न आशंका जन्माएको छ ।
गौतम पर्ख र हेरको रणनीतिमा देखिन्छन् । विगतमा छ पटक ओलीबाट धोका पाएको भन्दै निकटस्थसँग गुनासो गर्छन् । उनलाई केही समय अघि सम्झाउन पुगेका ओलीका विश्वासपात्रहरुलाई पटक पटक धोका पाएको फेहरिस्ता सुनाएका थिए । जेहोस् यसपटक बामदेवले जे निर्णय लिन्छन् त्यसले नेकपामा ओलीको सत्ता टिक्ने कि ढल्ने सम्मको परिस्थिति सृजना गर्ने भएको छ ।