Logo

उद्योगमन्त्री भट्ट र खानेपानीमन्त्री मगरबीच बोलचाल नै बन्द



काठमाडौं, १८ बैशाख । वर्तमान सरकारका दुई मन्त्री लेखराज भट्ट र बिना मगरबीच बोलचाल नै बन्द छ । उनीहरु दुवै सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्छन् । बिना मगर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुनमा गठन भएका सरकारको रथमा सवार भएकी हुन् भने भट्ट मन्त्रिपरिषद पूनर्गठनपछि मात्रिका प्रसाद यादवको बहिर्गमनपछि मन्त्रिपरिषदमा सहभागी भएका हुन् । भट्ट र मगर दुवै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । तर, पछिल्लो समय भट्ट अध्यक्ष दाहालसँग रिसाएका छन् ।

यो कुरा त स्वयम भट्टले नै प्रधानमन्त्री ओली हटाउन नहुने भन्दै उनको पक्षमा आफू उभिएको भनेर सन्देश दिईसकेका छन् । उनी प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली पक्षधर सांसदहरुको भेलामा सहभागी भएका छन् । र, ओलीको विकल्प खोजिए मुलुक दुर्घटनामा जाने भन्दै त्यस्तो प्रयास नगर्न अध्यक्ष दाहाललाई चेतावनी समेत दिएका छन् ।

आफू मन्त्री भएपछि अध्यक्ष दाहालले एकपटक पनि सम्पर्क नगरेको र राम्रो गर्दापनि कुनै प्रशंसा नगरेको भन्दै भट्ट रिसाएको स्रोतको दाबी छ । त्यतिमात्रै होईन, अध्यक्ष दाहालले पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सार्वजनिक रुपमै अबको सुदूरपश्चिमको नेता भीम रावल भनेर घोषणा गरिदिए । यसले पनि भट्टलाई चिढाएको हुनसक्ने उनीनिकट नेताहरुको दाबी छ ।

अर्को कुरा, दाहालले आफ्नी बुहारीसमेत रहेकी मन्त्री बिनालाई च्यापेको तर आफूलाई बेवास्ता गरेको उनको गुनासो छ । यसको असर मन्त्रीद्धय भट्ट र मगरको सम्बन्धमा पनि देखिएको छ । यी दुई मन्त्रीबीच बोलचाल नै नभएको धेरै भएको स्रोतको दाबी छ । एउटै क्याबिनेटमा हुँदापनि यही दुई मन्त्रीबीच बोलचाल नभएको देख्दा एक मन्त्री आश्चर्यमा परेको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्