दीपेश केसी: प्रचण्डले गणतन्त्रको नारा लिएर जनयुद्ध गरिरहँदा केपी शर्मा ओली बालकोटमा बसेर व्यङ्ग्य गर्दै भन्थे- बयलगाडा चढेर अमेरिका पुगिदैन । ओली न त गणतन्त्रको पक्षमा थिए न त त्यसको सम्भावना देखेका थिए । यतिसम्मकी २०६२/६३ को जनआन्दोलनमा पनि उनको त्यति उत्साह थिएन ।
वृहत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरिरहँदा पछाडिको सिटमा ओली बसेर टुलुटुलु हेरिरहेको तस्बिर र दृश्य अझै ताजै छ । गिरिजाप्रसाद कोइरालाको निधन भएपछि प्रचण्डले अब शान्ति सम्झौताको हस्ताक्षरकर्ता आफू मात्र बाँकी रहेकाले देश आफ्नो जिम्मामा पुगेको आशयको अभिव्यक्ति दिएका थिए । जङ्गलमा अब आफू एक्ला सिंह भएको ठानेका थिए । गिरिजाप्रसाद कोइरालाले अन्तिम समयमा आफूलाई देश सम्हाल्न भनेको सम्म प्रचण्डको अभिव्यक्ति सार्वजनिक भयो ।
राजनीतिक चार्तुयता भएका र जोखिम मोल्न सक्ने प्रचण्डले सुशिल कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल आफ्ना मुख्य प्रतिष्पर्धी देखे । हुनपनि त्यतिबेला केपी शर्मा ओली यसरी उठ्लान् भन्ने कमैलाई विश्वास थियो । ओली मृगौलाको उपचारका लागि दिल्ली काठमाडौं ओहोरदोहोर गर्थे । बेला बेलामा विश्वविद्यालयहरुको प्रवचनमा सहभागी हुन्थे । आराम गर्दै बालकोटमा बाघचाल र क्यारमबोट खेल्ने गरेको विषय चर्चामा आइरहन्थ्यो ।
ओली शारीरिक रुपमा स्वस्थ थिएनन् । मानसिक रुपमा बलिया थिए । उनको आत्मबल दुईपटक मृगौला फेरेपछि समय अगावै जराकजुरुक उठ्नसक्नुबाट बुझ्न सकिन्छ । राजनीतिमा मुख्य खेलाडी भएर निस्कनु अघि उनी जीवनसँग संघर्षरत थिए । तर, ओलीलले पटक पटक मृत्युलाई जितेको भन्दा अतियुक्ति नहोला । दुईपटक मृगौला फेरेर पनि मै हुँ भन्ने नेताहरुलाई च्याम्पटी घुमाएझैं घुमाउनसक्नु ओलीको सामथ्र्य नै मान्नुपर्छ । यस्तो क्षमता कुनैबेला गिरिजाप्रसाद कोइरालाले देखाएका थिए ।
ओलीको कदम राजनीतिक मूल्य मान्यता विपरित थियो वा थिएन ? बहसको विषय बन्न सक्ला । ओलीको बोली कतिको मर्यादित छ छैन ? त्यो पनि बहसको विषय बन्ला । खरो बोलीका कारण चिढिने र उखान टुक्का सुनेर हाँस्नेहरु नभएका होइनन् । ओलीले हात बाँधेर अहिलेको पकड बनाएका भने होइनन् । उनमा कुशल राजनीतिज्ञमा हुनुपर्ने कला छ जुन प्रमाणित भइसकेको छ । ‘प्रेम र युद्धमा सबै जायज हुन्छ’ भन्ने मान्यताबाट उनी निर्देशित देखिन्छ । त्यसैले विरोधी ठेगान लगाउन र आफ्नालाई बचाऊ गर्न ओली खम्पिस देखिएका छन् । विरोधीहरु विरोध गरिरहन्छन्, आलोचना गर्नेहरु गरिरहन्छन् तर उनी आफ्नै खेल खेलिरहेका छन् । राजनीतिमा सधै आक्रामक भइरहेका छन् । रक्षात्मक बन्न चाहँदैनन् । ओलीले विरोधीलाई कुनै मौका नै नदिने गरी निरन्तर आक्रामक रणनीति चाल्दै जोखिम कोल्दै राजनीतिक सफलता हासिल गर्दै गइरहेका छन् । चुनौतीहरुको सामना गरिरेका छन् ।
कुनैबेला ओलीले प्रचण्डको खुबै आलोचना गरे । उनी प्रचण्डका मुख्य आलोचकका रुपमा देखापरेका थिए । सेनापति प्रकरणमा प्रचण्डले राजीनामा दिनुपरेपछि भनेका थिए ‘प्रचण्डरुपी बेलुन कटवालरुपी छेस्कोले घोच्दा प्याट्ट फुट्यो’ । पूर्व माओवादीले ओलीलाई ‘प्रमुख दुश्मन’ कै स्थानमा नराखेका होइनन् ।
शान्ति प्रक्रियामा ओली माओवादीका सबैभन्दा आलोचक बने । तर, उनैले माओवादीलाई नेकपा एमालेसँग एकीकरण गराएर नेकपा निर्माण गरे । ओलीको यो चार्तुयताको कारण अहिले सतहमा देखिदै गएको छ । तत्कालिन माओवादीप्रति उनको धारणा अझै पनि सकारात्मक देखिदैन । जनयुद्ध दिवसको कार्यक्रममा उनी सरिक हुँदैनन् । जनयुद्धलाई सकारात्मक दृष्टिले हेर्दै हेर्दैनन् । तर, त्यही जनयुद्ध नेपालमा सदीऔं देखि चलिआएको राजतन्त्रको अन्त र एकात्मक राज्य प्रणाली अन्त गरी संघीय राज्य प्रणालीमा लाने मुख्य कारण थियो ।
ओलीको अर्को असन्तुष्टि जातीयता र क्षेत्रीयताको आधारमा गर्ने राजनीतिक पनि हो । उनले सधै यसको विरोध गरिरहे । दोस्रो मधेश आन्दोलनको चर्को आलोचना गरिरहे । यस क्रममा निकै आलोचित पनि भए । ‘मधेशको दुश्मन’ सम्म भनिए । तैपनि, ओलीले हिंसा, जातीय र क्षेत्रीय राजनीतिको चर्को विरोध गर्न छाडेनन् ।
ओलीले सत्तामा आएपछि जङ्गबहादुरको शैलीमा शक्ति हातमा लिने, शक्तिको भरपूर अभ्यास गर्ने, कानुन बनाएर र विरोधीलाई त्रसित बनाएर शासन चलाइरहेकोमा कुनै शंका छैन । उनले विरोधीको टाउकोमाथि तरबार झुण्ड्याउँदै बालुवाटार र अस्पतालको बेडमै बसेर भएपनि शासन चलाउन सकेका थिए । अहिले मृगौला प्रत्यारोपणपछि तंग्रिएका छन् । दैनिक १८ घन्टा काम गर्छु भनिरहेका छन् । त्यो १८ घन्टामा उनले विरोधी तह लगाउन धेरै समय खर्चिएको देखिदैछ ।
अहिले ओली जुन राजनीतिक प्रणालीमा प्रधानमन्त्री बनेका छन् त्यसमा प्रचण्डको मुख्य देन छ । गणतन्त्र र संघीयता प्रचण्डको एजेन्डा थियो । त्यही एजेन्डाको जगमा टेकेर अहिले पनि देश चलेकै छ । तर, सत्ताको बागडोर ओलीको हातमा छ । ओली सत्तामा एकछत्र राज गरिरहेका छन् । त्यसले सबैभन्दा ठूलो पीडा प्रचण्ड र डा. बाबुराम भट्टराईलाई परेको हुनुपर्छ । बाबुराम गणतन्त्र र संघीयताको ढोका खोल्ने जनयुद्धका शिल्पकार थिए भने प्रचण्ड त्यसको कार्यान्वयनकर्ता । माओवादी छाडेर बाबुराम जातीय र क्षेत्रीय राजनीतिक शक्तिको नेता बन्ने क्रममा बहुराष्ट्रिय राज्य लेखिएको एकतामा सही धस्काउन पुगिसकेका छन् । प्रचण्ड मसाल, माओवादी जस्ता शक्तिको बिघटन गरी नेकपा निर्माण गर्ने नेतामध्येका भएका छन् । तर, मसाल र माओवादीमा उनले जे जस्तो सफलता हासिल गरे नेकपामा त्यो सफलता हासिल गर्न कठिन हुने संकेतहरु देखापर्दैछ ।
अहिले प्रचण्डको छालामा ओलीको रजाईँ जस्तो भएको छ । राजनीतिक चार्तुयता प्रदर्शन गर्दै ओलीले प्रचण्डलाई समेत माथ खुवाइरहेका छन् । यस्तो अवस्थामा अब प्रचण्डसामु कि त ओलीको अस्त्रसामु आत्मसमर्पण गर्ने कि त त्यसलाई परास्त गर्न अर्को अस्त्र हान्ने बाहेक विकल्प छैन । ओलीको अस्त्रलाई परास्त गर्न प्रचण्डले नेकपामा पकड बनाएर ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन सक्नुपर्ने हुन्छ । प्रचण्डले सचिवालय बैठकमा ओलीको राजीनामा मागिसकेको विषय बाहिर आएको छ । तर, यो सजिलो छैन । प्रदीप नेपालको भनाई सापटी लिने हो भने ओलीले अनेक फण्डा निकालिरहन्छन् । जसलाई परास्त गर्न प्रचण्डका सामु फलामको च्युरो चपाउनु सरह भएको छ ।
प्रचण्डका सामु ओलीलाई माथ खुवाउन अर्को विकल्प पार्टी फुटाउने नै हो । उनकै पक्षधर यसमा सहमत हुनसक्ने अवस्था छैन । प्रचण्डका पक्षधर भनिएका टोपबहादुर रायमाझी, लेखराज भट्ट र दिनानाथ शर्मा जस्ता नेताले अहिले ओलीको विकल्प खोज्न नहुने र पार्टीलाई एकजुट बनाउनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । पार्टी फुटाउन ४० प्रतिशत केन्द्रीय सदस्य र त्यतिनै सांसद सख्या हुनुपर्ने व्यवस्था छ ।
नेकपाभित्रको अहिलेको राजनीतिक तरंगले पार्टी फुटाउने कदम कसैले चाल्यो भने दुवै संख्या पुग्न समेत कठिन हुन्छ । यसकारण प्रचण्डलाई ओलीले खोरमा थुनेको बाघ बनाइसकेका छन् । बाबुरामले माओवादी छाडेर खोरमा थुनिने बाघ हुनबाट तत्काल आफूलाई जोगाएको सिद्ध भइसकेको छ । उनलाई पनि त्यही हालतमा पुर्याउन ओलीले चालेको कदम हालै खुलिसकेको छ ।
ओली बाघचाल खेल्न खप्पिस छन् । उनले बाख्राको भेषमा बाघलाई थुनिदिएका छन् । अब प्रचण्डलाई त्यो ‘खोर’ बाट निस्कन निकै कठिन भइसकेको छ । खोर फुटाउन जोखिम मोल्नैपर्छ । खोरभित्र बसेर त्यो ताकत जम्मा गर्न कठिन भइसकेको छ । देशमा गणतन्त्र ल्याउने बाघरुपी नेतालाई खोरमा थुनेर ओलीले संघीय गणतन्त्र नेपालमा रजाईँ गरिरहेका छन् । ओली आफै सिंह जस्ता बनिसकेका छन् । विपक्षीहरु कोही दर्शकजस्ता त कोही निरिहजस्ता बनाइएका छन् ।