Logo

ओली सरकार ढाल्ने खेल चलिरहँदा चीनको सक्रियता बढ्यो



काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिंदै जाँदा छिमेकी राष्ट्र चीनको सक्रियता पर्दाभित्र मात्र नभई बाहिर पनि प्रकट हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रबाट राजीनामा मागिएसँगै भोलि बस्ने स्थायी कमिटि बैठकमा वार कि पारको अवस्था बन्न गइरहँदा चीनको सक्रियता सतहमै देखिएको हो ।

चिनियाँ राजदूत होउ यान्छीले आज विहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारस्थित निवासमै भेटेकी छिन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार यान्छीले नेकपाभित्रको आन्तरिक विवादबारे चासो राखेकी थिइन् । उनले चिनियाँ पक्षको साथ र सहयोगका लागि आग्रह समेत गरेका थिए ।

हिजो साँझ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई घन्टा कुराकानी गरिन् । बालुवाटार पुगेर उनले ओलीसँग साँझ ८ देखि १० बजेसँग कुराकानी गरेकी थिइन् । भेटमा नेकपाभित्रको आन्तरिक शक्तिसंघर्षबारे गम्भीर छलफल चलेको थियो । आजै यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी छिन् । उनको नेकपा नेताहरुसँग एक्ला एक्लै भेट विवाद मिलाउन केन्द्रित रहेको बुझिएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन कुराकानी गरेकी थिइन् । ओलीको सत्तामा कम्पन आइरहँदा भएको कुराकानी निकै अर्थपूर्ण थियो । त्यसमाथि राष्ट्रपति भण्डारीसँगको भेटबारे परराष्ट्र मन्त्रालयले उल्लेख गरेको प्रेस विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाबारे चासो राखेको उल्लेख छ । यो आफैमा एउटा सन्देश थियो । परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षको प्रधानमन्त्री ओलीलाई बलियो समर्थन रहेको सन्देश दिन खोजेको देखिन्छ ।

नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँग विशेष सम्बन्ध छ । दुवै पार्टीबीच संयुक्त प्रशिक्षण समेत भइसकेका छन् । अहिले चीनसँग सम्बन्ध बलियो रहेको सन्देश दिन नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्डबीच प्रतिष्पर्धा नै चलेको छ । स्वास्थ्य सामाग्री सहयोगका लागि सरकारले आधिकारिक पत्र पठाइसक्दा प्रचण्डले आफ्नै लेटरप्याडमा अर्को पत्र पठाएको जानकारी समेत गराएका थिए ।

नेकपाभित्र चीनको प्रभाव बढ्दै गएको खुल्दै गएको छ । त्यसले त्यहाँको आन्तरिक समिकरणका अलावा सत्तामा यताउता हुँदा पनि चीनको भूमिका रहने देखिएको छ ।

चीनको साथ लिन अध्यक्षद्धय ओली र प्रचण्ड दुवै सक्रिय भइसकेका छन् । अर्कोतर्फ चिनियाँ राजदूत होउ यान्छी आफै सक्रिय हुनथालेकी छिन् । यसलाई नेपालको सत्ताको खेलमा चीनको सक्रियता बढेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot