Logo

बामदेवलाई प्रधानमन्त्री बनाउने शर्तमा सहमति खोज्न विष्णु पौडेल प्रयासरत



काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको शक्ति संघर्षमा महासचिव विष्णु पौडेल मध्यमार्गी बनेका छन् । उनी कुनैपनि गुटमा खुलेर नदेखिएपनि समन्वयकारी भूमिका निभाइरहेका छन् । पौडेल अहिले प्रधानमन्त्री समे रहेका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीचको पुलको भूमिका निभाइरहेका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगिरहँदा अहिले बामदेवलाई प्रधानमन्त्री बनाउने नयाँ प्रस्ताव ओलीले गरेका छन् । गौतमलाई प्रक्रिया मिलाएर प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुका पछाडि विष्णु पौडेलेको पनि भूमिका देखिएको छ । पौडेलले नै मिलनबिन्दु खोज्न गौतम विकल्प हुनसक्ने प्रस्ताव ओलीलाई गरेका थिए । उनले सँगै निवास भएकाले गौतमसँग भेटघाट गर्दै आएका छन् ।

ओलीले गनेरै छ पटक आफूलाई धोका दिइसकेको भन्दै गौतम पत्याइहाल्ने पक्षमा छैनन् । तर, यसको ग्यारेन्टी विष्णु पौडेलले लिने भएको बुझिएको छ । जसरी हुन्छ पूर्व एमालेभित्र विभाजन ल्याउन नहुने पक्षमा पौडेल देखिएका छन् ।

पौडेलले नै माधवकुमार नेपालसँग भेटी तेस्रो अध्यक्षको प्रस्तावमा कुरा मिलाउन खोजेका थिए । नेपाल त्यो मान्न तयार छैनन् । उनी पनि ओलीलाई प्रक्रियागत ढंगबाट राजीनामा गराउन लागिपरेका छन् । प्रचण्डले त सचिवालय बैठकमै राजीनामा मागिसकेका छन् ।

अहिले विष्णु पौडेलको सक्रियामा ओलीले बढाएको प्रस्ताव कार्यान्वयन गर्ने गरी सहमति खोज्ने प्रयास भइरहेको बुझिएको छ । बामदेव प्रधानमन्त्री बन्ने सुनिश्चितता भएमा र काम अगाडि बढेमा मान्न तयार भएको बुझिएको छ । झलनाथलाई पनि अर्को चुनावपछि राष्ट्रपति बनाउने गरी सहमत गराउन पौडेले नै लागिपरेका छन् ।

प्रचण्डलाई पनि अहिलेको बेलामा विवाद साम्य पारेर जाऔं भन्दै पौडेलले छलफल बढाइसकेका छन् । कुरा मिलाउन पौडेल खटिएका छन् । उनी यसमा कत्तिको सफल हुने हुन् ? प्रतिक्षाको विषय बनेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्