Logo

नेकपा विवादः जता बामदेव उतैको जीत



काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र शनिबार बस्ने सचिवालय बैठक अघि नेताहरुले व्यापक सक्रियता देखाएर भेटघाट घनीभूत पारेका छन् । दिनभर नेकपा अध्यक्ष प्रचण्ड भेटघाटमा सक्रिय भए । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि महत्वपूर्ण भेटघाट र वार्ता गरेका छन् ।

प्रचण्डले माधवकुमार नेपालसँग भेटेर अध्यक्ष ओलीसँग भेटे । उनले आफ्नो पुरानै अडान दोहोराएको बुझिएको छ । प्रचण्ड र नेपालले ओलीको राजीनामा मागिसकेका छन् । दुवै नेताहरु आपसी सहमति बनाएर ओलीविरुद्ध एकजुट भइसकेका छन् ।

नेकपाभित्र अब निर्णायक शक्ति उपाध्यक्ष बामदेव गौतम बनेका छन् । गौतमको समर्थन जसलाई हुन्छ उही बलियो सावित हुनेछ । ओलीलाई उनले समर्थन गरेमा सरकार ढल्ने सम्भावना टर्नेछ । ओलीले उनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । त्यसबारे गौतमले मुख फोरेका छैनन्, आज रातभरमा गौतम कता पल्टने टुंगो लाग्नेछ ।

विगतमा गौतमले ओलीलाई अध्यक्ष बनाउन साथ दिएका थिए । उनैले झलनाथ खनाललाई साथ ल्याएर ओलीलाई जिताएका थिए । यसपटक गौतमको भूमिका फेरि निर्णायक छ । उनले विश्वासपात्रहरुसँग रायसुझाव लिइरहेका छन् । छपटक धोका खाइसकेको विषयलाई विश्वासपात्रहरुले उल्लेख गरेका छन् । गौतम यसपटक धोका नखाने पक्षमा छन् । उनले आफूले दुईपटक ओलीलाई राजनीतिक जीवनदान दिएको बताउने गरेका छन् । यसपटक दिन्छन् कि दिदैनन् ? भोलिको बैठकबाट थाहा हुन्छ ।

गौतमलाई फकाउन प्रचण्ड र माधव नेपाल समेत लागेका छन् । उनको शर्त प्रधानमन्त्री बन्ने नै छ । त्यसमा प्रचण्ड र माधव नेपाल राजी हुन सजिलो छैन । प्रचण्ड र माधव नेपालको सहमति अनुसार एकजना प्रधानमन्त्री र अर्का अध्यक्ष बन्ने सहमति छ । त्यो सहमति अनुसार ओलीलाई हटाउने तयारी गरेका छन् । तर, गौतमको साथ विना असम्भव भइसकेको छ ।

नेकपाभित्र गणितको जोडघटाउ चलिरहँदा चिनियाँ राजदूत यान्छीको सक्रियता रहस्यमय बनेको छ । उनले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिन् । आज विहान नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटिन् । यान्छीको भेटले राजनीतिमा विशेष अर्थ राखेको छ । नेकपाभित्र चीनको प्रभाव बढेको र त्यहाँको आन्तरिक विवाद र समाधानमा उसको भूमिका देखिएको छ । यसकारण आज रातभर हुने गृहकार्यले ओलीविरुद्धको शक्ति बलियो हुने या कमजोर हुने टुंगो लाग्नसक्छ । नेकपाको विवादमा अब बामदेव जता उसैको जीत हुने पक्का भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot