Logo

भारतमा ५ जेठसम्म लकडाउन लम्बियो, नेपालमा अझै एक महिना लकडाउन लम्बिनसक्ने



काठमाडौं, १९ वैशाख । भारतमा लकडाउन फेरि लम्ब्याइएको छ । आज त्यहाँको गृहमन्त्रालयले ५ जेठसम्म लकडाउन लम्ब्याउने घोषणा गरेको हो । सँसारको दोस्रो बढी जनसंख्या भएको भारतमा लकडाउन लम्बिदा नेपालमा पनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतको अवस्थालाई दृष्टिगत गरेर लकडाउन लम्बिने नलम्बिने तय हुने बताइसकेका छन् । झण्डै १९ सय किलोमिटर विना भीसा आवतजावत गर्न सकिने सीमा भएकाले पनि एक अर्कालाई असर पर्ने देखिन्छ । भारतमा ३५ हजार कोरोना भाइरसका संक्रमित संख्या रहेको छ । त्यहाँ ११ सयको संक्रमणबाट मृत्यु भइसकेको छ ।

लकडाउनबाट कोरोना रोकथामको उपाय अपनाइएको छ । सीमामा आवतजावत बन्द गरिएको छ ।

भारतमा लकडाउनको अवधि निरन्तर लम्ब्याइएपछि नेपालले पनि त्यस्तै रणनीति अपनाउने बुझिएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रहरुमा नयाँ संक्रमित भेटिएपछि सीमामा झन् सुरक्षा गस्ती बढाइएको छ । आज पनि रुपन्देही र बाँकेमा संक्रमित भेटिए । दुवै क्षेत्र भारतको उत्तर प्रदेशसँग सीमा जोडिएका छन् ।

नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएकाहरु छन् । यसकारण पनि भारतको प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने देखिन्छ । नेपालमा २५ वैशाखसम्मका लागि लकडाउन लम्ब्याइएको छ । अब अर्को निर्णयको प्रतिक्षा छ । सरकारले २४ वैशाखसम्म अर्को निर्णय लिने अपेक्षा गरिएको छ । लकडाउन तत्काल खुल्ने सम्भावना नभएपछि केही खुकुलो हुने आशा गरिएको छ ।

सरकारले मोडालिटी बनाएर कतिपय अनिवार्य क्षेत्रमा खुकुलो बनाउने प्रक्रिया थालिसकेको छ । तैपनि, विद्यालय र विश्वविद्यालय तत्काल खुल्ने छाँटकाँट छैन । सार्वजनिक यातायात पनि खुलिहाल्ने देखिदैन । लकडाउन नेपालमा जेठभर नखुल्ने छाँट देखिइसकेको छ । यसबीच सरकारले निर्माणको क्षेत्रमा आफूलाई केन्द्रित गर्ने तयारी भने गरेको छ । काम गरेर ज्याला दिने भनेको यही क्षेत्र हो भन्ने बुझिएको छ ।

भौतिक पूर्वाधार पनि बन्ने मान्छे भोको पनि नपर्ने । सरकारले भौतिक दुरी कायम राखेर भौतिक निर्माणलाई गति दिन खोज्दैछ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot