Logo

बन्दाबन्दीमा पनि भेरी बबई आयोजना निर्माण



काठमाडौँ, २० वैशाख । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम धमाधम भइरहेको छ ।

त्यहाँ कार्यरत मजदुर तथा प्राविधिक र आवश्यक सामग्रीहरू मौज्दातमा राखिएकाले बन्दाबन्दीको असरले आयोजनालाई छोएको छैन । आयोजनाको मुहानस्थल सुर्खेतको भेरी गङ्गा नगरपालिकाको चिप्लेमा अहिले दोस्रो चरणको कामअन्तर्गत ड्याम, हेड वर्क र पावर हाउस निर्माणका काम धमाधम भइरहेको छ । पहिलो चरणमा पर्ने सुरुङ खन्ने काम २०७५ वैशाख १ गते नै भइसकेको छ । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम)बाट १२ किमी सुरुङ खनिएको छ ।

सुरुङको ब्रेक थ्रुपछि अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको छ । अहिले मुख्य गरी पानीको बहाव फर्काउने कफर ड्यामको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बन्दाबन्दीको समयमा पनि मेसिनले गर्ने काम धमाधम भएको बताउनुभयो । उहाँका अनुसार आयोजनाको सुरुङ मार्ग खनिएपछि दोस्रो चरणअन्तर्गत हेडवर्क र पावर हाउसको काम भइरहेको छ । इन्जिनियर पण्डितले आयोजनाको ४० प्रतिशत काम सकिएको बताएका छन् ।

आयोजनामा ७० मजदुर
बन्दाबन्दीको अवधिमा करिब ७० जना मजदुरले सुरक्षा सावधानी अपनाएर काम गरिरहेका छन् । इन्जिनियर पण्डितले बन्दाबन्दीअघि मौज्दातमा राखिएका सामान र मजदुरहरूबाट अहिले बन्दाबन्दीका बेलामा पनि धमाधम काम भइरहेको बताएका छन् । मजदुरहरूलाई खाने बस्ने सुविधाभित्रै गरिएको छ । धेरैजसो काम मेसिनबाटै भइरहेको छ । मेसिनसँग सम्बद्ध मजदुरहरूलाई सावधानी अपनाएर काम गर्न आग्रह गरिएको जानकारी उनले दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot