Logo

बामदेवका लागि प्रतिनिधिसभा सदस्यको सिट खाली गराई चुनाव जिताएर प्रधानमन्त्री बनाउन सकिन्छ- प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री (अडियोसहित)



काठमाडौं, २० वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाएर प्रधानमन्त्री बनाउन सकिने बताएका छन् । नेकपाका शिर्ष नेताहरु सबै परीक्षण भइसकेकाले अब बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने उनको जोड थियो ।

‘प्रतिनिधिसभाको एक सिट खाली राखी चुनाव गराएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिन्छ,’ ऋषि धमलासँग रेडियो एनआरएनको नेपाली बहसमा मन्त्री ओलीका विश्वासपात्र ज्ञवालीले भने, ‘यसमा समय लाग्छ तर बामदेवलाई प्रधानमन्त्री बनाउन सकिन्छ ।’ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बेला नभएको भन्दै कथंकदाचित त्यो अवस्था आएमा बामदेव प्रधानमन्त्री बन्ने बताए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री भइसकेकाले बामदेव गौतम परीक्षण नभएकाले बनाऔं भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको उनको भनाई थियो । बामदेवको नाम प्रस्ताव हुँदा प्रचण्ड र माधव नेपाल दुवैले असहमति नजनाएको खुलासा गरे । उनले भने, ‘प्रचण्ड दुईपटक प्रधानमन्त्री हुनुभयो, माधवकुमार नेपालले २१ महिना चलाउनुभयो र देखियो पनि । बामदेव गौतमले प्रधानमन्त्री नचलाउनुभएकाले उहाँलाई बनाउनुपर्छ भन्ने आएको हो ।’

गौतमलाई प्रधानमन्त्री बनाउनु संविधानविपरित नहुने उनको जिकिर थियो । संविधान र कानुनलाई टेकेर प्रतिनिधिसभा सदस्य बनाएर गौतमलाई प्रधानमन्त्री बनाउनु उपयुक्त हुने बताए । राष्ट्रियसभा सदस्यमा मनोनित गरी संविधान संशोधन गरी प्रधानमन्त्री बनाउने बाटो ठिक नभएको उनको तर्क थियो ।

देश कोरोना भाइरसको महामारीसँग जुधिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाउन खोजिएको बताए । प्रधानमन्त्रीलाई घेराबन्दी गरेर कमजोर बनाउँदा उत्पन्न हुनसक्ने परिस्थिति गम्भीर हुने उनको भनाई थियो । ओलीले दुईवटा विवादास्पद अध्यादेश ल्याएको विषय ल्याएपछि हटाउने अभियान चलेकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘यो एउटा बहानाबाजी मात्र हो ।’

सुन्नुहोस् अडियो अन्तवार्ता:

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot