Logo

प्रधानमन्त्रीसँग प्रधानन्यायाधीश, सभामुख देखि अख्तियार प्रमुखसम्मको भेटको रहस्य



काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकटमा परिरहँदा उनले यो हप्ता प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटालगायत शक्तिशाली अधिकारीहरुसँग भेटिसकेका छन् । राति र विहान नभनी प्रधानमन्त्रीले भेटघाट तिव्र पारे ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बालुवाटारमा डाकेर भेटिसके । नेकपाभित्रै ओलीको राजीनामा माग भइरहँदा देउवा भने मौन छन् । उनले ओलीलाई भित्री रुपमा साथ दिइरहेका छन् ।

ओलीसँग प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको भेट रहस्यमय बन्यो । पूर्व माओवादीलाई असजिलो पार्ने गरी अदालतले द्धन्द्धकालमा गम्भीर मानवअघिकार उल्लंघनको घटनाका दोषीलाई आममाफी दिन नसकिने फैसला गरेलगत्तै भेट भएको थियो । त्यसले पूर्व माओवादीलाई सशंकित बनायो । लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले ओलीलाई भेटे । सभामुख सापकोटा अदालतको फैसलाले अप्ठ्यारोमा पर्ने मध्येका हुन् । उनीमाथि द्धन्द्धकालमा काभ्रेका अर्जुन लामा अपहरण र हत्याको आरोप छ ।

पछिल्लो समय संवैधानिक नियोगका प्रमुखहरुको पनि बालुवाटारमा आवतजावत बाक्लो भएको छ । अख्तियार प्रमुख नविन घिमिरेले ओलीलाई भेटेका छन् । सरकारभन्दा भिन्न स्वतन्त्र निकाय हो अख्तियार । त्यसको प्रमुखको भेट अर्थपूर्ण छ ।

त्यसो त १८ वैशाखको राति प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत होउ यान्छीलाई भेटे । बालुवाटारमा दुई घन्टा भएको भेटपछि यान्छीको राजनीतिक सक्रियता बढ्यो । लकडाउनको बेलामा मुखमा मास्क लगाउँदै उनी खुमलटारमा प्रचण्ड र कोटेश्वरमा माधवकुमार नेपाललाई भेट्न पुगिन् । यो भेटले नेपाली राजनीतिलाई तरंगित बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्