Logo

उत्तर कोरियाली नेता किम किन गायब भइरहन्छन्



एजेन्सी, २० वैशाख । उत्तर कोरियाली नेता किम जोङ्ग उन कमैमात्र सार्वजनिक हुन्छन् । उनी सँसारमै सबैभन्दा कडा सुरक्षा दिइएका नेतामध्ये पर्छन् । किम जब सार्वजनिक हुन्छन् तब सर्वत्र चासो हुन्छ । जब अज्ञात हुन्छन् तब पनि चासो हुन्छ ।

यसपटक किम २० दिन गायब भए । उनको बारेमा विभिन्न शंका उपशंका जन्मियो । कतिपयले उनको मृत्यु भइसकेको भने । कतिपयले कोमामा रहेको भने । विभिन्न कथाहरु बुनिए । तर, सँसारलाई चकित पार्दै किम सार्वजनिक भए ।

उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले किम तीन हप्तापछि पहिलोपटक सार्वजनिक भएको खुलाइसकेका छन् । उत्तर कोरियाको न्युज एजेन्सी केसीएनएले किम मल उत्पादन कम्पनिको उदघाटनमा सहभागी भएको खुलाएको हो त्यो पनि मे दिवस पारेर । शुक्रबार उक्त कम्पनिको निर्माण सम्पन्न भई उदघाटन गरिएको थियो । किमले उदघाटनको रिबन काटे ।

११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका थिएनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको विषय बाहिर आयो । मुटुको शल्यक्रियाको हल्ला चल्यो । यसको कुनै आधिकारिक समाचार आएको छैन ।

उनले १५ अप्रिलमा हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्तीमा सहभागिता जनाएका थिएनन् । किम गम्भीर विरामी परेपछि चिनियाँ स्वास्थ्य टोली उत्तर कोरियामा उपचारका लागि पुगेको खबर आएको थियो ।

किम सन् २०१४ मा ४० दिन गायब भएका थिए । उनी एउटा कनसर्टमा भाग लिएपछि गायब भएपछि विभिन्न आशंकाहरु जन्मिएको थियो । उत्तर कोरियाको राष्ट्रिय मिडियाले किमका बारे केही उल्लेख गरेन । दक्षिण कोरियाको खुफिया एजेन्सीले किम देब्रे गोलीगाँठोमा समस्या भई शल्यक्रिया गरी आराम गरेको खुलाएको थियो । Photo Source: Reuters, AFP & Agencies



प्रतिक्रिया दिनुहोस्