Logo

वामदेवलाई बालुवाटारको सन्देश : ‘तपाईलाई साँच्चिकै प्रधानमन्त्री बनाउन तयार छौं, दायाँबायाँ नगर्नुहोस’



काठमाडौं, २० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद हल गर्नेगरि आज सचिवालयको निर्णायक बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने कि नमाग्ने भन्नेबारे र स्थायी कमिटीको बैठकको मिति तय गर्नपनि ठोस निर्णय लिने बुझिएको छ ।

गत बुधबारको सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालले ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले पनि आफूले राजीनामा नै दिनुपर्ने हो भने उपाध्यक्षसमेत रहेका सचिवालय सदस्य वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सरप्राईज प्रस्ताव अघि ल्याएका थिए । त्यतिमात्रै होईन, प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई समेत तेस्रो अध्यक्ष बनाउनेगरि प्रस्ताव ल्याएका थिए ।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले सोच्दै नसोचेको प्रस्ताव ल्याएपछि असन्तुष्ट नेताहरुपनि आश्चर्यमा परेका छन् । वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि ओलीले यस्तो प्रस्ताव ल्याएको हो कि संकट टार्नको लागि ल्याईएको हो भन्नेबारेमा नेकपाकै शीर्ष नेताहरु द्धिविधामा छन् । केही समय पहिले अध्यक्ष दाहालले गौतमलाई राष्टियसभामा ल्याउने र संविधान संशोधन गरेर राष्टियसभा सदस्यपनि प्रधानमन्त्री बनाउनेगरि संविधान संशोधन गर्न प्रस्ताव गर्दा अध्यक्ष ओलीले ठाडै अस्विकार गरिदिएका थिए । तर, अहिले आएर ओलीले त्यही प्रस्ताव ल्याउनु भनेको झारा टार्न र विपक्षी गठबन्धन कमजोर तुल्याउनको लागि चालेको रणनीतिक चालमात्रै भएको पनि भन्ने गरिएको छ ।

आज चार बजे सचिवालय बैठक बस्नुअघि ओली पक्षका नेताहरुले बालुवाटारमा छलफल गरेको बुझिएको छ । दाहाल नेपाल समूह जसरीपनि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पक्षबाट दायाँबायाँ नहुने संकेत पाएपछि उनीहरु वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन अन्ततः राजी भएको स्रोतको दाबी छ । आफू पक्षका नेताहरुसँग प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा आफू ईमानदार भएको भन्दै प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । सोहीअनुसार बालुवाटारले नेता गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुने भन्दै दायाँबायाँ नगर्न आग्रहसमेत गरिसकेको स्रोतको दाबी छ । गौतमले अहिलेपनि खुलेर ओलीको पक्षमा आफूलाई उभ्याएका छैनन् । कतै अन्तिम क्षणमा आएर दाहाल नेपाल पक्षमा उभिएर प्रधानमन्त्रीविरुद्ध नै उभिने त होईनन् भनेर बालुवाटारले गौतमलाई प्रस्ताव कार्यान्वयनबारे अग्रिम जानकारी गराईसकेको बुझिएको छ ।

ओलीले संविधान संशोधनभन्दापनि कुनै एक सांसदलाई राजीनामा दिन लगाएर उक्त क्षेत्रमा उपनिर्वाचनमार्फत गौतमलाई प्रतिनिधिसभामा ल्याउने विकल्पलाई पहिलो रोजाईमा राखेका छन् । त्यसको लागि कम्तिमा पनि ६ महिना प्रक्रिया लाग्ने हुँदा अहिले नै राजीनामा नदिने प्रधानमन्त्री ओलीको अडान छ । हुन त यसअघि ओलीले कोरोनाको संक्रमण सकिएपछि आफूले राजीनामा दिने बताईसकेका छन् । तर, कोरोना नियन्त्रण हुन कति समय लाग्ने हो भन्ने कुरा विश्व स्वास्थ्य संगठनको निर्णयमा भर पर्नुपर्ने हुन्छ । ओलीनिकट सांसद तथा पूर्वमन्त्री महेश बस्नेतकाअनुसार प्रधानमन्त्रीले प्रधानमन्त्री पद छोड्नैपरे नेता गौतमबाहेक अरु कसैलाई पनि सजिलै नछोड्ने दाबी गरे । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot