Logo

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन नहुने के छ ? प्रदीप ज्ञवाली



काठमाडौं, २० वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य पनि हुन् । सालिन र बौद्धिक व्यक्तित्व ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । उनले नेकपाको आन्तरिक विवाद र चुनौतीबारे चिरफार गरेका छन् । ज्ञवालीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
नेताहरुबीचको द्वन्द्वले नेकपा फु्ट्छ कि एक भएर अगाडि बढ्छ ?
पार्टी विभाजन हुँदैन, एकताबद्ध भएर अगाडि बढ्छ । केही समीक्षाहरु हुन्छन् । केही कमीकमजोरीहरु छन् सच्चिन्छन् । जनता र राष्ट्रलाई धोका दिनेगरी पार्टी फुट्दैन । यदि कथमकदाचित फुट्यो भने ठूलो भुल हुने छ ।
यतिबेला प्रचण्ड र माधव नेपालहरु प्रधानमन्त्री गलाउन लागिरहनु भएको छ अब प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ कि मिलाउन लाग्नुहुन्छ ?
अहिले प्रधानमन्त्रीलाई गलाउने किन ? प्रधानमन्त्री त्यस्तो कुन गल्ती गर्नुभयो जसले गर्दा कोरोनाको विरुद्ध विश्व सारा मतभिन्नताहरु बिर्सेर एक भएर लडिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिवले समेत सबै द्वन्द्वरत पक्षलाई पनि युद्धविराम गर्न आग्रह गरेको बेलामा आफ्नै सरकारविरुद्ध यो तहको घुराबन्दी र दौडधूप गर्नुपर्ने कुनै कारण देखिँदैन । नेताहरुबीच फरक मत छन् छलफल हुन्छ । कतै कमीकमजोरी छन् भने सरकारले त्यसलाई आत्मसात गरेर जान्छ । अहिले प्रधानमन्त्रीलाई असहयोग गर्नुभनेको प्रकारान्तरले हिजो जनताले भनेका कुरा जसको नेतृत्वमा यो महान अभियान चलेको थियो । ती सबैप्रति तुषारापात हुन्छ । गत १५ देखि १९ गतेसम्म केन्द्रीय कमिटि चलेको थियो । त्यसबेला सर्वसम्मत ढंगले सरकारको कामको समीक्षा गरेको थियो । त्यसमा सरकारले गरेका ७ वटा सकारात्मक कामको मूल्यांकन गरिएको थियो भने ६ वटा बुँदामा यी यी कुरा सच्याउनुपर्छ भनेर सुझाव दिइएको थियो । त्यसयता जम्मा तीन महिना बितेको छ । दुई महिना त हामी कोरोनाबिरुद्धको लडाईंमा छौं । त्यतिबेला सर्वसम्मत निर्णय भएको कुरा अहिले छुट्टै बाटो हिड्न खोज्नुको आवश्यक देखिँदैन । कुन कुन नेताहरुले कहाँ कहाँ भेटघाट गर्नुहुन्छ त्यो ठूलो कुरा भएन ।
जसरी प्रधानमन्त्रीले माधव नेपाललाई तेस्रो अध्यक्ष र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ता गर्नुपछि प्रचण्ड र माधव नेपालले त हामी मान्दैनौं भन्नुभयो नि ?
अस्तिको बैठकमा उहाँहरुले त्यस्तो भन्नुभएन । प्रधानमन्त्रीले कसैको असहमति छ ? भन्दा उहाँहरुले असहमति छ भन्नुभएन । प्रचण्डलगायत सबै नेताहरु प्रधानमन्त्रीको प्रस्तावमा हाम्रो समर्थन छ भन्ने सुनिन्छ । बरु त्यहाँ छलफल भएको विषय भनेको ‘यो कार्यान्वयन कसरी हुन्छ ?’ भनेर हो । अहिले मुलुकलाई संकट परेको बेलामा अर्को ढंगले जानु भनेको जनमतलाई कुठाराघात गर्नु हो । यदि प्रधानमन्त्रीले मिलेर जाउन भन्ने हो भने पटक–पटक परीक्षण भइसकेका नेताहरुलाई मात्रै लिएर अगाडि बढ्नु भन्दा उत्तिकै योगदान भएका नेता बामदेव गौतमलाई बनाउन नहुने कुरा के छ र ? प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसक्नुभयो ।
तेस्रोचोटी हुँदा कुन चाहीं चमत्कार होला दुईचोटी गर्न नसकेको मान्छे भन्ने हुन्छ । माधव कमरेडले पनि २०-२१ महिना प्रधानमन्त्री चलाउनु भएकै हो । कस्तो चलाउनुभयो त्यो पनि हामीले देखेकै हो । अहिले प्रधानमन्त्रीलाई असहयोग गर्ने र सरकार परिवर्तन गर्ने कुरा गलत हो । तैपनि पार्टी एकताका लागि वीष पिएर ‘निलकण्ठ’ बन्नुपर्ने अवस्था पनि आउन सक्छ । कहिलेकाहिं राम्रो काम गर्दागर्दै पनि आलोचित हुनुपर्ने अवस्था आउँछ । नाकाबन्दीको सामना गरेर देशलाई जोगाउँदा पनि मन्त्रीका झन्डावाला गाडीमा चढेर गएर अविश्वासको प्रस्तावमा सही गरेर हटाउन खोजेको कुरा पनि बिर्सेका छैनौं । यदि त्यस्तो गर्ने नै हो भने लामो योगदान भएका नेता वामदेवलाई किन नदिने भनेर प्रधानमन्त्रीज्यूले प्रस्ताव ल्याउनुभएको हो ।
अहिलेको अवस्थामा प्रधानमन्त्रीबाट संविधान बिपरित प्रस्ताव किन आयो ?
यो संविधान बिपरित छैन । किन भने प्रतिनिधिसभाको कुनै सिट रिक्त गरी उपनिर्वाचन गरेर प्रतिनिधिसभाको सदस्य बनेपछि प्रधानमन्त्रीलाई संविधानतः रोक्दैन नि । राजनीतिक आधारहरु होला कसरी हुन्छ भन्ने । कानुनी रुपमा उपनिर्वाचन गरेर सदस्य बनाएपछि कानुन बिपरित भएन नि ।
अहिले त उपनिर्वाचन हुन सक्दैन नि ?
समय त लाग्छ । फेरि अहिले कोरोनाले नेपाली जनता मरेमरुन् देशै डुबेडुबोस्, तर जसरी पनि केपी ओलीलाई फाल्ने भनेर त साथीहरु लाग्नुभएको होइन होला हो भने त्यो पनि प्रष्ट आउनुपर्यो । कोरोनाको हामीलाई केही मतलब छैन, इटाली, अमेरिका जस्तो भएपनि होस् भन्ने हो भने छलफल गर्न सकिने भयो त्यो पाटो नै बेग्लै भयो । होइन भने प्रधानमन्त्रीले अब चाहीं कोरोनाले खासै असर गर्दैन भन्ने भएपछि यो कुरालाई कार्यान्वयन गर्ने भन्नुभएको छ ।
२०५६ सालमा नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई ब्यानर बनाई देखाएर बहुमत ल्यायो । उहाँलाई पर्साबाट चुनाव लडाइएको थियो । प्रस्ताव अनुसार प्रधानमन्त्री पनि बन्नुभयो । उहाँ फ्रान्सको स्वर्ण महोत्सव मनाउन गएर आएपछि राजीनामा दिन्छु भन्दा पनि जसरी अपमानित ढंगले दिन वाध्य बनाइएको थियो । त्यसपछिको चुनावमा नेपाली कांग्रेस हा¥यो । अब हाम्रा साथीहरुलाई यसभन्दा पछिका चुनाव चाहिँदैन । जसरी हुन्छ अहिले प्रधानमन्त्रीलाई फाल्ने हो भनेर लाग्ने भए अलग कुरा हो । अन्यथा समझदारी ढंगले जाने हो भने प्रधानमन्त्रीले योभन्दा बढी लचिलो हुने ठाउँ कहाँ छ र ।
राष्ट्रियसभाको सदस्य बनाएर बामदेवलाई प्रधानमन्त्री बनाउन सकिन्छ ?
मलाई व्यक्तिगत रुपमा भन्नुहुन्छ भने त्यो उचित ठान्दिनँ । भोलि पार्टीले के गर्छ त्यो अलग कुरा हो । एक डेढ महिना अगाडि पनि यो प्रस्ताव आइसकेपछि त्यति बेलामा माधव नेपालको नेतृत्वमा बनेको कार्यदल हो । यस्तो कार्यदल बन्यो भनेर सचिवालयले भन्नै नसकिन हामीले विघटन गरेका हौं भनेपछि त्यो बाटो सुल्टो हो भन्ने लाग्दैन । त्यसको लागि सुल्टोबाटो प्रतिनिधिसभाको सदस्य बनेर जाने हो । यसबारेमा पार्टी के गर्छ त्यो हेर्न बाँकी छ ।
त्यो अध्यादेश नल्याएको भए यस्तो खालको अन्तरद्वन्द्व त आउने थिएन नि ?
त्यो पनि भन्ने कुरा मात्रै हो । यदि अध्यादेश त्यो तहको थियो भने क्याबिनेटले फिर्ता गरिसकेको छ । प्रधानमन्त्रीले पनि म यसबारेमा समीक्षा गर्छु भन्नुभएको छ । फिर्ता भइसकेको अध्यादेशलाई लिएर यो ढंगको दौडधुप, दाउपेच, खिचातानी गर्नुपर्ने आवश्यकता छैन । त्यो अध्यादेशको सामुहिक रुपमै पार्टीभित्रबाट टिकाटिप्पणी भयो । कार्यकर्ताबीच पनि असहमति रहेको सरकारले यो गलत रहेछ भनेर फिर्ता गरिसकेको छ । फिर्ता भइसेको विषयमा समीक्षा गर्दा भइगयो । फेरि त्यो समीक्षा पनि दुई, चार महिनापछि गर्दा भइहाल्छ आजै गर्नुपर्छ भन्ने पनि छैन । भइरहेको थियो अर्जेन्ट नै थियो ।
आजको सचिवालय बैठकमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ कि हुन्न ?
आज त्यो हुँदैन । उहाँले राख्नुभएको प्रस्ताव संसदमा ल्याउनुप¥यो । त्यसमा वामदेव गौतमलाई कसरी संसद्मा ल्याउने बाटो कसरी सुनिश्चित गर्ने भनेर जानुपर्छ । अहिले जसरी नेनाहरुबीच असमझदारीहरु देखिएका छन् । त्यसको समाधानको बाटो मोडालिटी खोज्दै आजको बैठक सकिन्छ ।
प्रधानमन्त्रीले नयाँ रणनीति बनाउनुभएको छ ?
प्रधानमन्त्रीले त्यस्तो केही रणनीति बनाउनु भएको छैन । रणनीति ती साथीहरुले मात्रै बनाउनुहुन्छ । जसले मोलमोलाई ढंगले रणनीतिहरु खेलिरहेका छन् । उहाँले कुनै थप गोप्य रणनीति बनाउनु भएको छैन । आफ्ना कुरा खुलस्त ढंगले राख्नुहुन्छ ।
मध्यावधी निर्वाचनको कुरा पनि आएको छ नि ?
यो सबै प्रधानमन्त्रीलाई कमजोर र अलोकतान्त्रिक देखाउने हल्ला हो । संविधानमा मध्यावधि निर्वाचनको व्यवस्था छैन ।
प्रधानमन्त्रीले बालुवाटारमा बसेर हस्ताक्षर अभियान थाल्नुभएको हो ?
त्यो कुरा मलाई थाहा छैन । अहिलेको अवस्थामा त्यो समस्याको समाधान पनि होइन । प्रतिपक्षले यतिबेला प्रधानमन्त्री हट्नुपर्छ भनेको छैन । आमनागरिकको त्यो धारणा छैन । सिंगो देश कोरोनाविरुद्ध लडिँरहेको छ । यस्तो बेलामा कतिपय साथीहरुले प्रधानमन्त्रीलाई घेराबन्दी गर्नुभएको छ । त्यसले सम्पूर्ण साथीहरुको मन भाँचिएको छ ।
सबैको ध्यान स्थायी समितितिर छ, प्रधानमन्त्री त्यो डाक्न किन तयार हुनुभएन ?
बैठक नगर्ने कुरै हुँदैन गर्ने हो । तर, अहिले विषय पनि दोहोरिने र स्थानको पनि समस्या हुन्छ । त्यो बैठकको लागि पहिला केही विधि र प्रक्रिया बनाएर जाने होला नि । हामीले चैत २५ गतेबाट संसद बन्द गरेका छौं । अब जेट १५ बजेट ल्याउनैछ त्यसको लागि संसद् खोल्नै पर्छ । संवैधानिक र कानुनी रुपमा बैठक निर्णय गरिएको छ भने पार्टीको बैठक किन नगर्ने गर्नुपर्छ ।
तपाईंले यो भनिरहँदा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले त केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ नै, पार्टी अध्यक्षबाट समेत राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ भन्नुभएको छ नि ?
पहिलो कुरा त केपी ओली हट्नुपर्ने किन ? संसारभर कम्युनिस्ट आन्दोलन ओरालो लागिरहेको बेलामा नेपालमा दुईतिहाई बहुमत ल्याइदिएको हुनाले ? हिजो यो पार्टी मिलाउँन खोज्दा प्रचण्ड र केपी ओलीबीच हस्ताक्षर पनि भइसक्यो भन्दा उहाँलाई छुउटुप्पोसमेत थाहा थिएन । त्यतिबेला माओवादी कांग्रेससँग गठबन्धन सरकारमा थियो । अर्को गठबन्धनमा भएको माओवादीलाई तानेर वामगठबन्धनमा ल्याउने त्यसको झन्डा लिएर राष्ट्रव्यापी रुपमा दुई तिहाई बहुमत ल्याएकाले अध्यक्षबाट राजीनामा गर्नुपर्ने हो ?
केपी ओलीले बालुवाटारको सानो टिममा मात्रै सीमित हुने, अरुको कुरै नसुन्ने दम्भ देखियो रे नि उहाँमा ?
हामीहरु केन्द्रीय कमिटिमा घण्टौं छलफल गरेका हुन्छौं । हुन सक्छ थप परामर्श र छलफल हुन सकेन होला । तर, सानातिना कमीकमजोरी भए भन्दैमा जनताको म्यान्डेट पाएको प्रधानमन्त्रीले बिचैमा छोडेर हिड्नुपर्ने अवस्था हुन्छ र ।
पहिला पनि तपाईंहरुको पार्टी जोगाउन झलनाथ र माधव नेपालले राजीनामा दिनुभएको हो नि ?
माधव कमरेडले राजीनामा दिनुपर्ने अवस्था किन भयो भने माओवादीले सत्ता कब्जा गर्न भनेर जिल्लाबाट बोलाएका हज्जारौं कार्यकर्ता असफल भएर फर्किसकेका थिए । त्यति बेला माओवादीको हस्ताक्षर बिना संविधान नबन्ने । उहाँको राजीनामा बिना माओवादी सहीनै नगर्ने भएपछि माधवजीले राजीनामा दिनुपरेको हो । राष्ट्रिय राजनीतिले गर्दा हो पार्टीको आन्तरिक कारणले होइन । वक्तवाजीहरु त्यति बेला पनि भएका थिए । झलनाथले पनि पार्टीको कारणले होइन । त्यति बेला माओवादीसँग ६-७ बुँदाको सहमति भएको थियो । त्यो कागजको बारेमा एमालेलाई थाहा पनि थिएन । माओवादीका साथी देव गुरुङले त्यो सहमतिको आगज निकाल्दा हामी छक्क परेका थियौं । यत्रो सहमति गर्दा पनि पार्टीलाई थाहा नभएको भनेर । त्यो सहमतिले कुनै काम बनेन । ती राजीनामा र अहिले केपी ओलीको राजीनामाको तुलनै गर्न मिल्दैन नि ।
एमसीसी पारित गर्नुपर्छ भनेर कार्यदलको सुझाव पनि आइसक्यो तपाईंको फरक मत किन ?
म नचाहिने ढुंग गर्न जान्दिँन । कुनै पाखण्ड पनि गर्नुछैन । हिजो जो जो साथीहरु संयुक्त सरकारमा हुनुहुन्थ्यो । हस्ताक्षर गर्ने बेलामा उहाँहरु भयङकर राष्ट्रवादी अनि त्यतिबेला प्रतिपक्षमा बसेको एमाले चाहीं गलत भन्ने हुन्छ ? मैले प्रष्ट भनेको हुँ । केपी ओली प्रधानमन्त्री हुनुहुन्थो भने त्यो बहस पनि हुने थिएन । यो नेकपाको आन्तरिक राजीतिको एउटा एजेन्डा बनेको हो । हिजो उहाँहरुले यो एमसीसी आयो भने अमेरिकाले हाम्रो सारा कुरा सकिन्छ । त्यो लेखापरीक्षण पनि गर्न पाउँदैन नेपालले भन्नुभएको थियो नि । त्यसको टेष्ट पढ्नभयो होला कहाँ रहेछ लेखापरीक्षण गर्न नपाउने भन्ने कुरा ?
इण्डोप्यासेकफिक कै रणनीति हो भनेर आयो नि ?
त्यसको बारेमा मेरो नोट अफ डिसेन्डमा लेखेको छु । डीएफआईडीले गर्ने सहयोग पनि गरेको सहयोग पनि हाम्रो सुरक्षाको अंग हो भनेको छ । यो भनाइलाई मान्ने हो भने अब डिएफआईडी र बेलायती सहयोग हामीले लिन्नौं भन्नुपर्ने हुन्छ । भारतसँग भएको रेलको सम्झौता पनि हाम्रो सुरक्षा रणनीति अन्तर्गत हो भनेपछि भारतसँगको रेल सम्झौताहरु बन्द भयो । जापानले गर्ने सहयोगमा पनि त्यसै भन्यो अनि हामीले त्यो सहयोग पनि बन्द ग¥यौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्