Logo

ओलीले यसरी टारे सत्ता संकट



काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकटलाई तत्काल टारेका छन् । पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरुले राजीनामा मागेपछि उत्पन्न सत्ता संकटलाई राजनीतिक चार्तुयता देखाउँदै तत्कालका लागि टारेका हुन् ।

ओलीमाथि मनोमानी ढंगले सरकार चलाएको, एकपछि अर्को गल्ती गरेको र पार्टीलाई विवादमा पार्ने कामहरु गरेको आरोप लगाउँदै राजीनामा माग भएको थियो । तर, तीन दिनको बीचमा दुई पटक सचिवालय बैठक बसेपछि पनि उनलाई राजीनामा गर्ने परिस्थिति निर्माण गर्न नेकपाभित्रका ओलीका विपक्षीहरु सफल हुन सकेनन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले २५ वैशाखमा स्थायी कमिटि बैठक बस्ने गरी टुंगो लगाइएको जानकारी गराए । ओलीले सचिवालय बैठकमा कमी कमजोरीको आत्मालोचना गरेको जानकारी दिए । बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने सहमति बनेको समेत खुलाए ।

यसपटक बामदेवकै कारण ओलीको सत्ता टिकेको हो । ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने अस्त्र १७ वैशाखमा बसेको सचिवालय बैठकमा फयाँकेका थिए । ओलीलाई तत्काल सत्ताबाट हटाउनबाट रोक्ने अस्त्र नै यही बन्यो । गौतमलाई प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्य बन्ने बाटो समेत खुलाउने सहमति बन्ने भएपछि ओलीलई तत्काल हटाउन नहुने पक्षमा उभिए ।

नेकपाभित्र चौंथो शक्तिका रुपमा रहेका गौतमको साथ जसलाई हुन्छ उसकै पल्लाभारी हुने निश्चित थियो । गौतमले ओलीको पक्षमा आफूलाई यसपटक उभ्याएका थिए । त्यसमा उनको शर्त थियो जुन पूरा गर्न ओली सहमत भएका थिए । विश्वस्त स्रोतका अनुसार बामदेव गौतमसँग ओलीका विश्वासपात्रहरुले गम्भीर छलफल गरी शर्त पालनाको सुनिश्चिता हुने विश्वास लिएका थिए ।

ओलीले सांसदहरुलाई पनि आफ्नो पक्षमा पार्दै लगे । उनले विश्वासपात्रहरु मार्फत र आफू स्वयं सक्रिय भएर समर्थन बटुल्न सफल भए । संसदीय दलमा आफूविरुद्ध बहुमत पुर्याउन प्रचण्ड र माधवकुमार नेपाल पक्ष सफल नहुने देखेपछि ढुक्क भए । बामदेवको साथ पाएपछि उनी ढुक्क भएका थिए ।

यसैगरी, चिनियाँ राजदूत होउ यान्छीको केही दिनयताको सक्रियता अर्थपूर्ण रह्यो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८ वैशाखको साँझ भेटेपछि १९ वैशाखको विहान नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरिन् । उनको यो भेटलाई नेकपाको विवादमा भूमिका देखाउन खोजेको रुपमा हेरियो । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा एकीकरणमा चिनियाँ भुमिका रहेको र त्यो अहिले प्रत्यक्ष देखिनथालेको विश्लेषण गरे । राजदुत यान्छी नेकपा विवाद मिलाउन लागिपरेको टिप्पणीहरु भए ।

नेकपाभित्रको आन्तरिक शक्तिका अलावा बाह्य शक्तिसमेतको सक्रियतापछि ओलीको सत्ता संकट टरेको छ । ओली तत्कालका लागि नहट्ने निश्चित भएको छ । तर, घटनाक्रमले नेकपाको विवाद छताछुल्ल भएको छ । नेकपा एकीकरणपछि पूर्व एमाले र पूर्व माओवादीको गुट मानिएकाहरु यताउता हुँदा नयाँ माहोल समेत सृजना भएको छ ।-Photo Source: PM Press Advisor



प्रतिक्रिया दिनुहोस्

Screenshot