काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमाग्ने स्पष्ट पारेका छन् । आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्माआलोचना गरेको र अबदेखि पार्टीका सबै निर्देशन मान्ने र सोहीअनुसार चल्ने प्रतिबद्धता गरेकोले राजीनामा नमाग्ने उनले स्पष्ट पारेका छन् । सचिवालय बैठक सकिएलगत्तै प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
उनले आफूहरुले अल्पमतमा परेर सम्झौता भने नगरेको जिकिर गरे । उनले भने,”विल्कुलै अल्पमतमा परेर सम्झौता गरेको होईन । दुवै पक्षले रियलाईजेशन गरेको हो । दुवै पक्षले सांसदहरुलाई हस्ताक्षर गर्ने अभियान चलाउन थालिसकेका थिए । सांसदहरुलाई हस्ताक्षर गर्ने अभियानमा पुगेका थियौं । हामीले जनताको कुरा सुन्यौं । यसले देशलाई नोक्शानीतर्फ लैजान्छ भन्ने सोचेर एकता भएर जानुको विकल्प छैन भन्ने अनुभुति गरेका हौं ।” आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अबदेखि पार्टीको निर्देशन मानेर काम गर्छु भनेर प्रतिबद्धता जनाएकोले अब सरकारले नयाँ ढंगले काम गर्नेमा आफूहरु विश्वस्त रहेको पनि उनले सुनाए । उनले भने-“अब सरकारको कार्यशैली हेर्न बाँकी छ ।”
उनले अब पार्टी एकताबद्ध भएर अघि बढ्नेबारे पनि ढुक्क हुन आम नेता तथा कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् । आजको सहमतिसँगै पार्टीको एकीकरणको कामलाई चाँडो सम्पादन गर्दै अघि बढ्ने पन उनले स्पष्ट पारे । अब बस्ने स्थायी कमिटीको बैठकमा सचिवालयभन्दापनि गहन र गम्भिर ढंगले छलफल हुने उनले जानकारी दिए ।
सचिवालय बैठकले आजको सहमति गर्नुपुर्व देशव्यापी रुपमा नेकपाभित्र पैदा भएको तरंग आजको सहमति र निर्णयसँगै समाप्त भएको उनले जनाए । उनले भने-“आजको बैठकसँगै एकताको दिशामा अत्यन्तै सकारात्मक कदमको रुपमा सम्पन्न भएको छ । हामी सबै सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजान सहमत भएका छौं । अब स्थायी कमिटीमा जे निर्णय ल्याउँछ, त्यो साझा प्रतिवेदन ल्याउँछ ।”
त्यस्तै, आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याउनेगरि सहमति गरेको पनि खनालले जनाए । गौतमलाई कहिलेसम्म प्रधानमन्त्री बनाउनुहुन्छ भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,”यो भविष्यको कुरा हो । निर्वाचन आउनुपर्छ । प्रतिनिधिसभामा आउनुपर्यो । कुनै सुनिश्चित कुरा गर्दैनौं । नेकपाभित्र धेरै नेताहरु छौं । थुप्रै नेताहरु प्रधानमन्त्री बन्न योग्य छौं । प्रम बन्नको लागि वामदेव गौतम लाईनामा उत्रिएको नेता हो । उहाँ बने राम्रै हुन्छ । मेरो शुभकामना छ ।”
उनले आफूहरु अस्थिरतााको पक्षमा नभएको भन्दै सरकार स्थिर बनाउने पक्षमा रहेको सुनाए । उनले थपे-“अहिले हामी उहाँ केपी ओली कै नेतृत्वमा अघि बढ्छौं । मन्त्रिमण्डल पूनर्गठन र उहाँको सल्लाहकार टिमलगायतको सचिवालय चेन्ज गर्ने कुरा ती सबै कुरा पार्टीले समिक्षा गर्छ । विभिन्न निकायका नियुक्तीको कुरामा क्रमशः अघि बढ्छौं । हामी मिल्नुमा कसैको दबाब छैन् । जनताको ईच्छा र आकांक्षाअनुसार अघि बढेका छौं ।” उनले आफ्नो र प्रधानमन्त्री ओलीबीच मन मिल्ने दिशातर्फउन्मुख रहेको सुनाउँदै भने-“यो सुरुवात हो । मनहरु, हृदयदेखि र भावना मिल्दै जान्छन् ।”