Logo

‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार’



काठमाडौँ, २१ वैशाख । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताएका छन् ।

प्रवक्ता डा. खतिवडाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा (मे ३) शुभकामना दिदै भन्नुभएको छ, “यद्यपि, प्रेस स्वतन्त्रता असीमित र निरपेक्ष हुन सक्दैन । यसका निश्चित दायित्व र सीमाहरू हुन्छन् । ” उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको चर्चा गर्दै नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गरेका छन् । उनले सन्देशमा भन्नुभएको छ, “नेपालको संविधानमा सर्वसाधारण नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको हक सुनिश्चित गरिएको छ । ”सन्देशमा यी अधिकारहरूलाई सहजीकरण गर्न सञ्चारमाध्यमलाई सूचनाको खोजी गर्ने छुट हुने उल्लेख गर्दै भनिएको छ, “प्रकाशन/प्रसारण गर्ने, राज्यका निकायहरूको काम कारबाहीलाई निगरानी राख्ने छुट दिइएको हुन्छ, जसलाई हामी प्रेस स्वतन्त्रता भन्छौँ ।

” उनले कोरोना भाइरस (कोभिड–१९) पछि बन्दाबन्दीको असहज अवस्थामा पनि जनतालाई सुुसूचित गर्न खटिएका पत्रकार तथा सञ्चारकर्मीको योगदानको उच्च प्रशंसा गरेका छन् । उनले व्यावसायिक धर्म निर्वाह गर्दा जीवन गुमाउनुहुने सञ्चारकर्मीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आउनुभएका सबैमा हार्दिक धन्यवादसमेत व्यक्त गरेका छन् । हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्र दिवस मनाउने निर्णय गरेको हो । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्

Screenshot