Logo

नेकपामा माधव नेपाल एक्लाइए



काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद तत्कालका लागि टुंगिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने सम्मको अवस्थामा पुगेको विवाद आत्मालोचना र मिलेर पार्टी र सरकार चलाउने सहमतिमा टुंगिएको छ ।

विवाद उत्कर्षमा पुग्दा नेताहरुको घर घरमा छुट्टै बैठक बस्यो । सांसदहरुको हस्ताक्षर सम्म चल्यो । ओलीको राजीनामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले मागेका थिए । बामदेव गौतमसहित ओली इतरका चारजना प्रभावशाली नेताहरु एकै ठाउँमा उभिएका थिए ।

प्रचण्ड, खनाल, नेपाल र गौतम एक भएर ओली हटाउन लागे । तर, गौतमलाई प्रधानमन्त्री बनाउने अस्त्र फयाँकेर ओलीले आफ्नो पल्लाभारी बनाए । गौतम ओली नजिक पुगे ।

सचिवालयको २० वैशाखको बैठकमा त ओली र प्रचण्ड समेत सहमति बनाएर बसिसकेका थिए । झलनाथ खनाल पनि ओलीको राजीनामा नमाग्ने मिलेर जाने भन्न थालिसकेका थिए । माधवकुमार नेपाल अन्तमा एक्लिए ।

ओली र प्रचण्ड मिलेको देखेर माधवकुमार नेपालले कटाक्ष गर्दै दुई जनाको मात्र पार्टीमा सबैथोक नचल्ने भन्दै चेतावनी दिए । उनी ओली र प्रचण्ड दुवैसँग रुष्ट भए ।

यसअघि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने तयारी नभएको होइन । प्रचण्डले समेत यो अस्त्र फयाँकेका थिए । कोटेश्वरमा नेपाल निकटको सक्रियता ह्वात्तै बढेको थियो । तर, बामदेव निकट मानिएका स्थायी समिति सदस्यहरु योगेश भट्टराई, घनश्याम भुषालका अलावा ठाकुर गैरे जस्ता संगठनमा पडक भएको दरिलो साथ दिएनन् ।

अहिले नेकपामा फेरि माधवकुमार नेपाल एक्लिएको चर्चा चल्न थालेको छ । अध्यक्षद्धय ओली र प्रचण्डका अलावा प्रभावशाली पाँच नेतामध्ये माधवकुमार नेपाल एक्लो भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot