Logo

कोरोना संक्रमण भेटिएपछि नेपालगञ्जवासीको फेरियो दिनचर्या



राँझा, २१ वैशाख : कोरोना भाइरस सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ । शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् । विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेकामा शनिबार नेपालगञ्जका सडक सुनसान देखिएका थिए ।

नेपालगञ्जमै कोरोनाको बिरामी भेटिएपछि त्रासले नेपालगञ्जवासीको दिनचर्यामा परिवर्तन आएको हुन सक्ने बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो । उहाँले स्थानीय प्रशासनले बिहान १० बजेदेखि अत्यावश्यकबाहेकका पसल बन्द गराई आवतजावत बन्द गराएकाले बेवास्ता गरी उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने उल्लेख गरे ।

नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले कोरोना पोजेटिभ देखिएपछि समुदायमा त्रास देखिएको बताए । ‘पहिलेदेखिनै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’, उनले भने, ‘एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, मान्छे घरबाट बाहिर निस्किन डराइरहेका छन् । ’

उहाँले त्रास मात्रै गरेर केही नहुने भएकाले थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी मुसलमान समुदायलाई रमजानको सबै कार्यक्रम घरभित्रै गर्न आग्रह गरिएको बताए ।
८३ को स्वाब सङ्कलन
नेपालगञ्जमा कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो । आइतबार नै उनीहरुको कोरोना रिपोर्ट आउने छ । सो टोलमा कोरोना संक्रमित व्यक्ति दैनिक मस्जिद तथा मदरसामा आएको देखिएकाले त्यहाँ रहेका ७८ जनालाई टोललाई नै एकान्तबास बनाएर राखिएको छ । स्थानीय प्रशासनले शुक्रबार रातिदेखि नै सो टोललाई बन्द गरेको छ । अब १४ दिनसम्म टोलभित्र आवतजावत ठप्प गराइएको छ । सङ्क्रमितका परिवार र आफन्त आठ जनालाई शनिबार नै महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot