एजेन्सी, २१ वैशाख । उत्तर र दक्षिण कोरियाबीच असैनिक क्षेत्रमा गोली हानाहान भएको छ । शुरुमा उत्तर कोरियाली सैनिकले गोली चलाएपछि जवाफमा दक्षिण कोरियाली सैनिकले गोली चलाएका थिए ।
गोली हानाहानमा दक्षिण कोरियाली सैनिकतर्फ कुनै हताहती नभएको जनाइएको छ । बीबीसीका अनुसार स्थानीय समयअनुसार विहान पौने ८ बजे गोली चलेको थियो ।
गोली किन चलाइयो भन्ने स्पष्ट भएको छैन । तर, पाँच वर्षपछि उत्तर कोरियाली फौजले दक्षिण कोरियाली फौज भएको क्षेत्रमा गोली चलाएको छ ।
उत्तर र दक्षिण कोरियाबीच निकै विवाद रहँदै आएको छ । पछिल्लो समय दुवै देशबीच सम्बन्ध केही सुधार आइरहेको छ ।