Logo

महामारीको बेलामा सत्ताको लुछाचुडीको दुर्गन्धित खेल हुनु लज्जास्पद- सुजाता कोइराला



काठमाडौं, २१ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश कोरोना भाइरसको जोखिमसँग लडिरहँदा नेपालमा सत्ताको दुर्गन्धित खेलले लज्जित बनाएको बताएकी छिन् । उनले नेपाली जनताले स्थिरताका लागि दिएको म्यान्डेटको समेत दिएको अवस्थामा सत्ताको लुछाचुडीको दुर्गन्धित खेल हुँदा देशभित्र मात्र नभई बाहिरसमेत नकारात्मक सन्देश गएको बताएकी हुन् ।

‘सत्ताको लुछाचुडीको दुर्गन्धित खेल नेपालमा भयो, यो लज्जास्पद छ,’ पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देशमा भनिन्, ‘प्रधानमन्त्री स्वयं सबै शक्ति लिएर बलियो हुने दाउमा बस्नुभयो र स्थिरताका लागि चुनेर ल्याएकोमा अस्थिरताका लागि प्रमुख भूमिका खेल्नुभयो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफू सत्तामा पुग्ने दाउमा नेकपाकै नेताहरु पुग्नुभएकोमा कडा आलोचना गरिन् ।

देशमा राजनीतिक स्थिरतासहित विकासतर्फ बढ्नुपर्नेमा उनले जोड दिइन् । उनले सत्ताको लुछाचुडीमा नलागेर विकासमा केन्द्रित हुन आग्रह गरिन् ।

नेपाली महिलाहरु सक्षम र सशक्त भएकाले अब महिला प्रधानमन्त्री बन्नसक्ने बताइन् । महिलाको नेतृतव विश्वभर प्रशंसनीय भएकाले नेपालमा पनि प्रधानमन्त्री बनेर देश चलाउनसक्ने बताइन् । उनले भनिन्, ‘महिला नेतृत्वले तत्काल आइलाग्ने चुनौतीको सुझबुझ र कार्यकुशताले सामना गर्न सक्छन् भन्ने प्रमाणि भइसकेको छ ।’ महिलाले संयमताका साथ हरेक नेतृत्व कुशलतापूर्वक निर्वाह गर्न सक्ने उनको भनाई थियो ।

देशमा महिला हिंसा व्याप्त भएकाले त्यसको अन्त हुनुपर्ने बताइन् । उनले भनिन्, ‘देशमा घरेलु हिंसा र बलात्कार भइरहेको छ । अब महिला हिंसा अन्त हुनुपर्छ ।’

महिलाले घर परिवारका अलावा आम्दानीको दोहोरो भूमिका निर्वाह गरेर देखाइरहेको बताइन् । अब महिलामाथि कुनै किसिमका भेदभाव, शोषण र दमन स्वीकार्य नहुने स्पष्ट पारिन् ।

यसैगरी, नेता सुजाता कोइरालाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिदै प्रजातन्त्र र विकासमा प्रेसको महत्वपूर्ण भुमिका रहेको बताइन् । लोकतन्त्रविना प्रेस स्वतन्त्रता असम्भव रहेको भन्दै यसको सम्वद्र्धनमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot