Logo

स्थायी कमिटीको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा कसैले माग्दैन्, राजीनामाको च्याप्टर क्लोज भैसक्यो : महासचिव पौडेल



काठमाडौं, २१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको च्याप्टर क्लोज भैसकेकोले यही बैशाख २५ गते बस्ने स्थायी कमिटीको बैठकमा पनि राजीनामाको विषय नउठ्ने विश्वास दिलाएका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले प्रधानमन्त्री ओलीको विकल्प कसैले नखोजेको पनि स्पष्ट पारे । उनले भने-“उहाँको विकल्प खोजिएकै थिएन् । तर, बाहिर वाहियता हल्ला भयो । सरकार संकटमा थिएन् । संकटमा थियो भनेर अतिरञजना गरियो । अहिलेपनि प्रधानमन्त्री ओली बहुमतमा हुनुहुन्छ ।” उनले संसदीय दलमा बहुमत पुर्याउने भनेर हस्ताक्षर नभएको पनि दाबी गरे । उनले सुनाए,”हस्ताक्षर गरिएकै थिएन । केपी ओलीलाई सबैको समर्थन छ । अध्यक्ष प्रचण्ड र ओलीबीच राम्रो सम्बन्ध छ । माधव कमरेड र ओली कमरेडबीच पनि राम्रो सम्बन्ध छ । उहाँहरुबीच सामूहिक रुपमा मिलेर जाने र संस्थागत निर्णय गर्ने भन्ने सहमति छ । अब प्रधानमन्त्रीको राजीनामाको च्याप्टर क्लोज भयो । न त पार्टीले नै उहाँको राजीनामा मागेको थियो । न अरु कसैले ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसदको पूरा कार्यकालभरि सरकारको नेतृत्व गर्ने उनको दाबी छ । उनले भने-“उहाँ पाँच वर्षकै प्रधानमन्त्री हो । त्यसैले ५ वर्षसम्म उहाँको विकल्प खोजिँदैन् ।” उनले पार्टीभित्रको विवाद हल गर्न नेताहरुको नै मुख्य भूमिका भएको भन्दै यसमा चिनियाँ पक्ष सक्रिय भएको भनेर टिप्पणी गर्न नहुने तर्क गरे । उनले भने,”बाहिर जे चर्चा भैरहेको छ, त्यो गलत हो । हाम्रो पार्टी एक ढिक्का छ । यसको लागि कसैको साथ र सहयोग चाहिँदैन् । हाम्रो पार्टी आफ्नो निर्णय आफैं गर्न सक्छ ।”

यद्धपी उनले पछिल्लो पार्टी विवादलाई समाधान गर्न उपाध्यक्ष वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको पनि सुनाए । उनले भने,पार्टीमा वामदेव कमरेडको प्रशंसनीय काम भयो । प्रधानमन्त्री बन्न उहाँ उपयुक्त मान्छे हो । उहाँलाई प्रतिनिधिसभामा उपयुक्त समयमा उपयुक्त ठाउँबाट ल्याईन्छ । त्यस्तै, उनले पार्टीभित्र महाधिवेशन सम्पन्न नभएसम्म वान म्यान वान पोष्टपनि लागु नहुने स्पष्ट पारे । उनले भने,”एकता महाधिवेशन नभएसम्म ओलीको हकमा लागु हुँदैन् ।” मन्त्रिमण्डल पूनर्गठनको कुरा प्रधानमन्त्री ओलीको स्वविवेकको कुरा भएको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot