Logo

बामदेव गौतम प्रधानमन्त्री बन्ने कुरा हाँसीमजाक हो- देवेन्द्र पौडेल



काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य देवेन्द्र पौडेल प्रष्ट बोल्छन् । कुरा नचपाइकन बोल्ने उनी हक्की छन् । नेकपा अध्यक्ष प्रचण्डका निकट नेता पौडेलसँग लामो राजनीतिक अनुभव पनि छन् । पौडेलसँग पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे ऋषि धमलाले गरेको कुराकानीः
हिजो बालुवाटारमा भएको सहमतिप्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छैन । हामीले दुईवटा कुरा उठाएका थियौं । पहिलो अनावश्यक समयमा आएको अध्यादेश फिर्ता हुनुपर्छ भनेका थियौं । सम्मानीय प्रधानमन्त्रीज्यूले हामी सबैको कुरा सुनेर फिर्ता लिनुभयो । दोस्रो पार्टी एकतालाई अक्षुण राखेर अझ बलियो बनाउनुपर्छ भनेका थियौं । हिजोको बैठकले बरु करिब–करिव त्यतातिर अनुभूति गरेका छौं । दोस्रो स्थायी समितिको बैठक बोलाएर सबैका भावना, दृष्टिकोणहरुको सुनुवाइ हुनुपर्छ र पार्टी कमिटिबाट पारित निर्णयका आधारमा सरकार सञ्चालन गर्नुपर्छ भनेका हौं । त्यो पनि २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको हिजो बैठकबाट सुनियो । करिबकरिब ठिकै दिशातिर पार्टी जान खोजेको महसुस भएको छ ।
तपाईहरुका माग सम्बोधन भयो हो ?
विषय त बाँकी छन् । पार्टी एकीकरणलाई संस्थागत बनाउने, सरकारलाई पनि अलि संस्थागत रुपममा काम गर्न लगाउने । जनताका अगाडि अझ बढी के काम गर्न सकिन्छ त्यसलाई लिएर जाने । कतिपय शीर्ष नेताहरुको विचार, दृष्टिकोण, भावनाको सम्मान कसरी जाने भन्ने विषयतिर जाने हो ।
तपाईंहरु पुरै प्रधानमन्त्रीको राजीनामा माग्न थाल्नुभएको थियो, प्रधानमन्त्रीले आत्मालोचना गरेपछि पुग्यो तपाईंहरुको माग ?
हामीले त्यस्तो राजीनामा नै भनेर मागेका थिएनौं । अलि पार्टी चाहीं संस्थागत भएर अगाडि बढ्नुपर्छ भनेका हौं । जथाभावी अनावश्यक मान्छेहरुले ल्याएका सुझाव र सल्ला मानेर प्रधानमन्त्रीले अलिकति आफूलाई फरक ढंगले उतार्नुभयो । हिजोको सचिवालय बैठकमा प्रधानमन्त्रीले मेरा केही कमीकमजोरीहरु रहे भन्ने कुराको आत्मालोचना गर्नुभएको छ । त्यो पक्ष चाहीं सकारात्मक हो । प्रधानमन्त्रीले अरुको कुरा पनि सुन्ने, आफ्ना कमजोरीप्रति आत्मालोचना गर्ने भयो भने पार्टी संस्थागत भएर अगाडि बढ्छ ।
प्रधानमन्त्रीले त आत्मालोचना गर्नुभयो, तपाईंहरुले गर्नुपर्दैन ? उहाँको ध्यान त त्यतैतिर केन्द्रित छ नि ?
त्यस्तो विलकुल होइन । म ऋषिजीलाई भन्न चाहन्छु, ‘यो अध्यादेश पहिला म सरकारको पक्षमा जहिलेपनि बोलेको छु ।’ आलोचना कहिल्यैपनि गरेको छैन । कमीकमजोरी गरेकै भए पनि ढाकछोप हुने गरी बोलेको थिएँ । हामीले खाली बेमौसमा आएको अध्यादेशको मात्रै बिरोध गरेका हौं । अहिले कोरोनासँग लेड्ने बेला विश्वनै त्यतैतिर केन्द्रित भइरहेको हामीले यो अनावश्यक पार्टीभित्र किचलो गर्ने काम भयो भनेर विराध गरेका हौं । त्यसकारण निरपेक्ष सरकारको विरोधी हामी थिएनौं । सरकारले गरेका राम्रा कामको समर्थन गरेका थियौं । नराम्रा कामको विरोध गरेका हौं । सरकार सञ्चालन गर्दा पनि अलि लोकतान्त्रिक ढंगले गर्नुपर्छ । सरकारले गर्न नसकेका कुराहरु पार्टीभित्रबाट देखाइदिएर यी, यी विषयमा जनताको विरोध भनेर आलोचनाको रुपमा प्रस्तुत गर्नुपर्ने हो ।
केपी शर्मा ओलीको सरकारको संकट टर्यो होइन ?
प्रधानमन्त्री अहिले नै राजीनामा गर्नुहोस् भनेर कसैले पनि टेबु्ल संस्थागत गरेको मलाई जानकारी छैन । ४, ५ दिनसम्म हस्ताक्षर गरेरे, यो गरेरे, ऊ गरेरे भनेर तरङ्गीत पनि भइयो । त्यो कुरा पनि प्रमाणित कतै पनि छैन । सबैले प्रधानमन्त्रीलाई पाँच वर्षको लागि घोषणा गरिसको अवस्था हो । तर, पछि परिस्थिति फरक भएको र प्रधानमन्त्रीले पनि कामकारबाहीमा पार्टीको संस्थागत निर्णय नमानेको हुँदा किन त्यसो गरेको भनेर पार्टीमा सशक्त रुपमै उठेको हो । तर प्रधानमन्त्रीलाई अहिले नै हटाइहालौ भनेर कसैले पनि सोच्दैन, सोच्नुपनि हुँदैन । तर, पहिलाकोभन्दा सच्चिएर अगाडि बढ्नुपर्छ ।
बामदेव गौतमलाई बनाउने कुरा पनि आएको अनि केपी ओली पाँच वर्षको प्रधानमन्त्री कसरी हुनुभयो त ?
बामदेवजीलाई अहिले नै प्रधानमन्त्री बनाइहाल्छु भन्ने मलाई व्यक्तिगत सोध्नुहुन्छ भने त यो चाहिँ मजाक सिबाय केही होइन । किन भने दुईतिहाई नभइकन संविधान संशोधन हुँदैन । प्रतिनिधिसभा सदस्य नभइकन प्रधानमन्त्री हु्न मिल्दैन । राष्ट्रिसभाबाट ल्याउँदा पनि संविधान संशोधन हुनुपर्छ त्यहाँ दुई तिहाई चाहिन्छ । बाहिर साथीहरुले पनि म छोड्छु, ऊ छोड्छ भन्नु पनि हाँसीमजाकका कुराहरु हुन् ।
खगराज अधिकारीले म छोड्छु भन्नुभयो नि ?
यी सबै मजाकका कुरा हुन् । यदि साच्चिकै कुनै साथीहरुले छोडिहाल्नुभएछ भने पनि त्यहाँ फेरि चुनाव जित्नुपर्यो । निर्वाचन आयोगले कार्यतालिका प्रस्तुत गर्नुप¥यो त्यसको प्रणाली अनुरुप निर्वाचनमा भाग लिनुपर्छ । एउटै मात्रै चुनावी क्षेत्र कसैले खाली गरिदियो भने त्यहाँ उतिखेर चुनाव गराऔं भनेर हुँदैन । मतपत्रदेखि सबै तयारी गर्नुप¥यो । त्यसकारण उहाँलाई कसैले वामदेवजीलाई भोलि प्रधामन्त्री बनाउँछौं भन्यो भने र फेरि बामदेवजी पनि म हुने भएँ भनेर हिड्न थाल्नुभयो भने नेपाली राजनीतिमा एउटा हाँसीमजाक बाहेक केही हुँदैन । यदि सबैले यस्तै काम गर्ने हो भने निर्वाचन र जनमतको हुर्मत जान्छ । किन भने ठूला सिनियर नेताहरु चुनाव हार्दा पनि जसरी पनि जानुपर्छ भनेर पाँच वर्षको लागि पाएको म्यान्डेटलाई लत्याएर जान मिल्दैन । त्यसो गर्दा अन्य साना नेताहरुलाई घात हुन्छ ।
त्यसोभए उपनिर्वाचनबाट सांसद् बनाएर प्रधानमन्त्री बनाउने कुरा उचित होइन ?
वामदेवजी प्रतिनिधिसभा सांसद र प्रधानमन्त्री हु्न योग्य व्यक्ति हुनुहुन्छ । त्यसमाको म संसा र सम्मान गर्न चाहन्छु । तर, चुनाव लडेर हारिसकेपछि त्यसको प्रक्रियाअनुसार पाँच वर्षसम्म पर्खने कि कसैलाई चाहियो भन्दैमा कसलाई कहाँबाट निकालेर खाली गर्न सकिन्छ भन्दै हिड्ने ? मैले बामदेवजीको व्यक्तिगत रुपमा विरोध र आलोचना गर्न खोजेको होइन । कुन नियम र प्रक्रियाको पालना गरेर जाने । भोलि एउटा गाउँपालिकाको मेयर म पनि हुनुपर्छ भन्यो भने के हुन्छ ? त्यसो भएर त हामीले चुनाव गरेका हौं । त्यसैले पार्टीलाई संस्थागत रुपमा संरक्षण गर्न उहाँलगायत हामीसबैको दायित्व छ ।
वामदेवजी जसरी चुनाव लड्ने तयारीमा लागिरहनुभएको छ, त्यतातिर पार्टी जानु हुँदैन भन्न खोज्नुभएको हो ?
त्यस्तै गर्दा जाने हो भने भोलि अर्को कमरेडले पनि कुरा उठाउनु होला, ‘उहाँ हुनुभयो, म चाहीं किन नहुने भनेर । अनि फेरि अर्को क्षेत्र खाली गर्न हिड्ने गर्नु ? साच्चै भन्ने हो भने वामदेवीजीले महत्वपूर्ण तरिकाले पार्टीको भूमिका निर्वाह गरेर अलि विशिष्ट ढंगले चुनावी प्रक्रियाद्वारा आउँदा राम्रो हुन्छ ।
त्यसोभए अर्को निर्वाचनपछि बामदेव प्रधानमन्त्री हुनुहुन्छ ?
अब पार्टीले के निर्णय गर्छ, त्यसमा भरपर्छ । निर्वाचन हुनुभन्दा पहिला अहिले नै प्रधानमन्त्री भइहाल्ने कुरा उहाँजत्तिको व्यक्तित्वलाई एउटा मजाकमा उडाउने कुरा भएको छ । यसरी कहिले यता, कहिले उता गरेर त्यो व्यक्ति हिड्दा अरुले पनि मजाककै पक्षमा लिएका छन् । यस्ता कुराहरुले उहाँको व्यक्तित्वलाई पनि राम्रो गर्छ जस्तो मलाई लाग्दैन ।
विष्णु पौडेलले त यही सरकार पाँच वर्ष चल्छ भन्नुभएको छ नि ?
अब धेरै पनि छैन । एक वर्षपछि स्थानीय चुनाव आइहाल्छ । झन्डैझन्डै २६, २७ महिना यो सरकारले काम गरिसकेको छ । पार्टीमा त हामी छलफल गर्छौं । अहिले भरखरै यो सरकार तुरुन्तै बदल्ने कुरा हामीले गरेका थिएनौं । पार्टीमा चाहीं यो बारेमा स्थायी समिति बैठकमा छलफल होला । सरकारले भए, गरेका कमीकमजोरीको आत्मालोचना गरिसकेपछि कोरोना रोगको माहामारी चलिराखेको बेलामा फेरबदलतिर नलाग्दा राम्रो हुन्छ ।
यसमा जित केपी शर्मा ओलीको भयो कि प्रचण्डको ?
जित त नेपाली जनताको जो पार्टी एकताको पक्षमा हुनुहुन्थ्यो । मैले तपाईंकै मिडियामा भनेको थिएँ, ‘हामी पार्टी एकताको पक्षमा छौं’ भनेर । त्यहीं पार्टी एकताको पक्षमा भएका साथीहरुको जित भएको मैले महसुस गरेको छु ।
अहिलेको एकतामा चिनीयाँ पक्षको भूमिका कत्तिको छ ?
यो कुरा पुष्टी नभइकन म भन्दिँन । चिनियाँ पक्षको सक्रियता बढेको, राजदूत यताउता हिँडेका कुरा राजनीति गर्नेले थाहा पाउने नै कुरा हो । तर फेरि पनि नेपालको मित्रराष्ट्रहरु चिनियाँ पक्षले राजनीतिक खिचातानी हुने, अस्थिरता हुने कुरालाई जोगाउने गरी आएको हो भने ठीक छ । अस्तक्षेपको रुपमा आएको हो भने राम्रो हुँदैन ।
यसपटक पार्टी मिलाउने चीनले ठाडै हस्तक्षेप ग¥यो नि ?
मलाई त्यस्तो लाग्दैन । छिमेकी राष्ट्रहरुले तपाईंहरुले यसो गर्दा राम्रो हुन्छ भनेर राम्रो ढंगले राखिएको हो भने त्यसलाई हामीले ग्रहण गर्नुपर्छ ।
माधव नेपालले त दुई अध्यक्ष मिलेर मात्रै हुँदैन भन्नुभएको छ नि ?
माधव नेपालको त्यो तर्कलाई मैले सम्मान गर्छु । किन भने उहाँ भनेको हिजो निर्वाचित पनि भएको । पार्टीको महासचिव पनि भएको र प्रधामन्त्री पनि भएको एक प्रभावशाली नेता हुनुहुन्छ । उहाँले दुईजना अध्यक्ष मात्रै मिलेर हुँदैन । पार्टी संस्थागत ढंगले चल्नुपर्छ । पार्टीका साथीहरु सबैको भावनाअनुसार दुई अध्यक्ष चल्नुपर्छ भन्ने कुरा अत्यन्तै राम्रो हो ।
माधव नेपालले त म तेस्रो अध्यक्ष पद लिन्न भन्नुभयो नि ?
माधवजीलाई मैले पनि भेटेको थिएँ । दुई पार्टी एकता हुनेबेलामा दुई अध्यक्ष हुनु स्वाभाविक हुन्छ । फेरि तेस्रो अध्यक्ष भन्ने कुरा त्यति स्वभनीय हुँदैन । यो पदको निम्ति अध्यक्ष लिनलाई विषय उठान गरिएको होइन । पद्धति, संकार र संस्कृति बँचोस् भनेर मैले कुरा उठाएको भन्ने विषय उहाँले राख्नुभएको थियो । त्यसको हामीले सम्मान गर्नुपर्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्