काठमाडौं, २१ वैशाख । सरकारले लकडाउन फेरि लम्ब्याउने संकेत गरेको छ । २५ वैशाखसम्म रहेको लकडाउन लम्ब्याउनेबारे आउँदो मन्त्रिपरिषद बैठकले टुंगो लगाउने भएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकमा लकडाउनबारे समेत छलफल भएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थालाई समेत दृष्टिगत गरी सीमामा कडाई गरी लकडाउन लम्ब्याउने प्रष्ट पारेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
तर, यसपटक लकडाउन लम्ब्याउँदा विभिन्न क्षेत्रलाई ग्रिन, एलो र रेड जोनमा विभाजित गरी खुकुलो समेत पार्ने तयारी भएको छ । यसका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले आउँदो क्याबिनेटमा प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । उनले मोडालिटीको मस्यौदा तयार गरिसकेको बुझिएको छ ।
स्रोतका अनुसार कृषि कर्म गर्न दिने, सडकलगायत निर्माणमा जनशक्ति परिचालन गरी रोकथामको उपायसहित काम अगाडि बढाउने तयारी भएको छ । कामका लागि राहतको नीतिसहित सरकार अगाडि बढ्न खोजेको बुझिएको छ ।
अहिले पनि ठूला विकासका आयोजनाको काम भइरहेको छ । निर्माण सामाग्रीको उत्पादनकर्ता र ढुवानीकर्तालाई सुरक्षित तरिकाले संचालन गर्न दिई सडक र अन्य निर्माणलाई श दिने सरकारको तयारी रहेको छ ।
यसैगरी हिउँदे बाली भित्राउने र धानलगायत गर्मी मौसममा रोप्ने बालीको कामको चटारोलाई दृष्टिगत गरी कृषि कार्यमा पनि अनुमति दिने गरी मोडालिटी तयार भएको छ । कृषकका लागि काम गर्ने अनुकूल अवस्था सृजना गरिने भएको बुझिएको छ ।
शैक्षिक संस्था, सार्वजनिक यातायातलगायत भने अझै नखुल्ने बुझिएको छ । यसवर्ष शैक्षिक संघसंस्था जेठभर पनि नखुल्ने अवस्था देखिएको छ ।