कााठमाडौं, २१ बैशाख । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर जनता समाजवादी पार्टी, नेपाल बनेको छ । दुवै पार्टीका शीर्ष नेताहरुले एकतासँगै नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदनसमेत दिईसकेका छन् । आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि नयाँ दलको मान्यता दिनेछ । तर, यो बीचमा दुवै पार्टीबीच पार्टी एकतालाई लिएर असन्तुष्टी बढेका समाचार पनि आएका थिए । राजपा नेपालबाट अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा र राजकिशोर यादवले एकता प्रक्रिया बहिष्कार गरेको बताईएको थियो ।
तर, अहिले उनीहरुपनि एकता प्रक्रियामा समाहित भएका छन् । पार्टी एकताको लागि आवश्यक अध्यक्ष मण्डलको निर्णयमा उनीहरुले समेत हस्ताक्षर गरेको र यो सँगै उनीहरुपनि एकता प्रक्रियामा सामेल भएको बुझिएको छ । नवगठित जनता समाजवादी पार्टी, नेपाललाई नै मुलुकको वैकल्पिक शक्ति निर्माण गर्न जुट्नेगरि उनीहरु एकता प्रक्रियामा सरिक भएको बुझिएको छ ।
उता, समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुसमेत एकता प्रक्रियामा सहभागी भैसकेका छन् । अध्यक्ष उपेन्द्र यादवले कोही पनि नेताहरु एकता प्रक्रियाबाट असन्तुष्ट नरहेको जानकारी दिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अब जनता समाजवादी पार्टी, नेपाल देशको सशक्त पार्टी बन्ने जनाए । राजपा र समाजवादी पार्टी दुवै पार्टीमा एकता निर्णयलाई लिएर असन्तुष्टी नरहेको उनको भनाई छ । असन्तुष्ट नेताहरु एकीकृत पार्टीमा सरिक भएपछि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका शीर्ष नेताहरु खुशी भएका छन् ।