Logo

बागलुङको र पर्वत जोड्ने झोलुङ्गे पुलको गिनिजबुक यात्रा शुरु



बलेवा, २२ वैशाख : सिङ्गल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये संसारकै लामो पुल बनेको भन्दै बागलुङको रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गिनिजबुक अफ दि वल्र्डमा लेखाउने प्रक्रियाको थालनी भएको छ ।

बागलुङ नगरकार्यपालिकाको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गिनिजबुक अफ दि वल्र्ड जाने प्रक्रिया थालेको हो । केही दिन पहिले सम्पन्न कार्यपालिकाको बैठकले तथ्याङ्क विभाग र स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई नाम लेखाउन पहल गर्ने निर्णय गरेको थियो । ५७६ मिटर लामो यो पुल केही दिन पहिला निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा छ । यसअघि स्विट्जरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गे पुल रहेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

त्योभन्दा बाहेक कुनै पनि सिङ्गल स्पान प्रविधिको पुल रहेको तथ्याङ्क फेला नपरेकाले यो पुल संसारको लामो भएको दाबी गर्दै गिनिज बुकमा लेखाउने प्रक्रिया थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

स्विट्जरल्याण्डको भन्दा बागलुङमा निर्माण भएको पुल ७३ मिटर लामो रहेको बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । बागलुङ नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रियरूपमा चिनाउनका लागि गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा पठाउने निर्णय गरेको उहाँको भनाइ छ ।

सिङ्गल स्पान प्रविधिमा निर्माण भएको सो पुल विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाणसहित गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको उहाँले बताउनुभयो । पछिल्लो एक दशकयता कालीगण्डकी माथि सानाठूला धेरै झोलुङ्गे पुल बनेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका पुलले नेपालको पहिचानलाई बदल्न प्रयास गरेका छन् । विसं २०७० मा पर्वत सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा ३४७ मिटर लामो पुल बन्यो । कालीगण्डकीमाथि १५६ मिटरको उचाइमा बनेको यो पुल नेपालकै अग्लो झोलुङ्गे पुल हो ।

योबाहेक कैयाबाट पर्वतको फलेवास नगरपालिकाको मुडिकुवा जोड्ने पुलको डिपिआर बनेर निर्माण प्रक्रियामा छ । नारायणस्थानकै कुकुरगाडेदेखि कुश्मा जोड्ने पुलको प्राविधिक स्टमेट तथा अध्ययनको काम भइरहेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण हुन सक्यो ।

बागलुङ–पर्वत जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको विश्वकै लामो पुल अब गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा दर्ज हुने प्रमुख पौडेलले बताउनुभयो । यो पुल गिनिजबुकमा दर्ज गर्ने प्रक्रिया शुरु भएसँगै नेपालको पहिचान थप उचाइमा पुग्ने विश्वास गर्न थालिएको छ । बागलुङमा ५०० भन्दा बढी झोलुङ्गे पुल छन् । सामान्यतया पाँच मिटरदेखि ५६७ मिटर लामो पुल बागलुङमै रहेको दाबी बागलुङ नगरपालिकाको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot