काठमाडौं, २२ बैशाख । संसदको बजेट अधिवेशन यही बैशाख २६ गते अपरान्ह ४ बजे सुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्रै बैशाख २६ गते अपरान्ह ४ बजेको लागि संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन आह्वान गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भने संसदको बजेट अधिवेशन अघि नै संवैधानिक नियुक्तीहरु गर्ने तयारी गरेका छन् । विभिन्न आयोगमा खाली रहेका पदमा नियुक्ती गर्नेगरि प्रधानमन्त्री ओलीले आन्तरिक परामर्श थालेका छन् । यसको लागि उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीनिकट स्रोतकाअनुसार संवैधानिक परिषदको बैठक भोलिको लागि राख्ने तयारी गरिएको छ । पछिल्लो समय संवैधानिक परिषदको बैठक प्रभावित हुँदै आएको थियो । बैठक प्रभावित हुँदा विभिन्न आयोगमा नियुक्तीहरु गर्न नसकिएको प्रधानमन्त्री ओलीको गुनासो थियो । यो बीचमा उनले संवैधानिक परिषदमा विपक्षी दलको नेता नराख्ने प्रावधानसहित अध्यादेश ल्याएका थिए ।
तर, चौतर्फी दबाब र आलोचना भएपछि सरकारले अध्यादेश खारेज गरेको थियो । अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता देउवालाई भेटेका थिए । उक्त भेटवार्तामा के कुराकानी भयो ? भन्ने कुरा यकिन छैन् । तर, आयोगको नियुक्तीहरुमा भागबण्डा गरिएको भने आशंका गरिएको छ।File Photo