काठमाडौं, २२ बैशाख । यही बैशाख २६ गते अपरान्ह चार बजे संसदको बजेट अधिवेशन बोलाईएसँगै सिंहदरबारमा चहलपहल सुरु भएको छ । आगामी आर्थिक बजेटमा आफूअनुकुल कार्यक्रम राख्नको लागि सांसदहरुसमेत विभिन्न मनत्रालयमा धाउन थालेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटमा आफूअनुकुलका कार्यक्रम र बजेट विनियोजन गराउन आजदेखि नै सांसदहरु विभिन्न मन्त्रालयमा धाउन थालेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पनि सांसदहरु मन्त्री पद्यमा अर्यालसँग बजेटसँग सम्बन्धित रहेर छलफल गर्न पुगेका थिए ।
उता, सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ । लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तरराष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा युवराज खतिवडाले राससलाई जानकारी दिएका छन् ।
लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा सङ्घीय संसद्को अर्थ समितिले आज छलफल गरेको हो । छलफलका क्रममा मन्त्री डा खतिवडाले मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिएका थिए । पछिल्ला दिनमा अन्तरराष्ट्रिय सहायता परिचालनलाई सरकारले जोड दिएको जानकारी दिँदै उनले दाताबाट उल्लेख्य प्रतिबद्धता प्राप्त भएको स्पष्ट पारेका छन् । अर्थमन्त्री डा खतिवडाले स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा, राहतलगायतका काममा झण्डै रु एक खर्ब ५० अर्ब जतिको सहायतामा सम्झौता भइसकेको जानकारी दिएका थिए ।