Logo

दाहाल-नेपालको रणनीति, स्थायी कमिटी बैठकबाट पार्टीलाई ‘एक व्यक्ति, एक पद’ मा लैजाने



काठमाडौं, २२ बैशाख । शनिबारको सचिवालय बैठकपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद केही हदसम्म साम्य भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीलाई एकताबद्ध बनाएर लैजाने समझदारी भएसँगै आन्तरिक विवाद मत्थर भएको हो । तर, पार्टीभित्र ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट बनेका दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालबीचको सहकार्य अब के हुन्छ ? भन्नेपनि नयाँ चर्चा सुरु भएको छ ।

कतिपयले दाहालले ओलीसँग सम्झौता गरेर व्यक्तिगत स्वार्थ सिद्धि गरेको र नेता नेपाललाई धोका दिएको समेत आरोप लगाउन थालेका छन् । नेता नेपालले हिजोमात्रै अध्यक्ष दाहालसँग खुमलटारमा भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताबारे नेता नेपालले आफूनिकटका स्थायी कमिटी सदस्यहरुसँग ब्रिफिङ समेत गरिसकेका छन् । नेपालले आफूनिकट नेताहरुसँग दाहालले धोका नदिएको आश्वस्त पारेसँगै दुई नेताबीच स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध पूनः मोर्चाबन्दी हुनसक्ने र प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्न सक्ने अड्कलबाजीपनि सुरु भएको छ ।

अध्यक्ष दाहाल र नेता नेपालबीच पार्टीलाई एक व्यक्ति, एक पदमा लैजानेबारे सहमति भएको र सोहीअनुसार ओलीपनि अघि बढ्नुको विकल्प नरहेको निश्कर्ष निकालेका छन् । नेता नेपालनिकट स्थायी कमिटी सदस्य डा. वेदुराम भुषालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा अब नेकपा एक व्यक्ति, एक पदमा जाने विश्वास दिलाएका छन् । यसको लागि अध्यक्ष दाहाल र नेता नेपालबीचको सहमति कायमै रहेको पनि उनले स्पष्ट पारे ।

आजमात्रै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । आजको भेटवार्तामा स्थायी कमिटीमा पेश गर्ने एजेण्डाबारे छलफल भएको बालुवाटार स्रोतको दाबी छ । त्यस्तै, यसअघि नै ओली र दाहालबीच भएको सहमति कार्यान्वयनका बारेमा पनि आजको भेटवार्तामा चर्चा भएको र ओलीले सहमति कार्यान्वयनको लागि प्रतिबद्धता जनाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्