Logo

डा. सुरेन्द्र यादव ‘अपहरण’ प्रकरणमा फेरि टकराव



काठमाडौं, २२ वैशाख । सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणले नयाँ मोड लिएको छ । यादवले आफूलाई अपहरण गरेको भन्दै छानविन गरी कारबाहीको सिफारिश गर्न राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिए । उनले कारबाही गर्न माग गर्दै सरकारी वकिलको कार्यालयमा पनि उजुरी दिएका छन् ।

यादव आफै उजुरीका लागि पुगेपछि उनले आरोप लगाएकाहरु पनि राष्ट्रिय मानवअधिकार आयोग पुगेर घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले निवेदन दर्ता गर्दै आफूहरुमाथि झुठा आरोप लगाएर चरित्रहत्या गर्न खोजेको भन्दै मानवअधिकार हनन भएको दाबी गरेका छन् ।

दुवै पक्ष अनुसन्धान र छानविनको निकायसम्म पुगेपछि यो घटनाले नयाँ मोड लिएको छ । १० वैशाखमा महोत्तरीबाट काठमाडौं आएका डा. यादव एक्ला भने थिएनन् । उनको साथमा तत्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अगरिया, कौशल यादव, अंगरक्षक पनि थिए ।

तीनवटा गाडीमा आएकाहरुमा आरोपित नेकपा सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल पनि थिए भन्ने खुलिसकेको छ । सांसद यादवसँग आएका उनका नातेदारसहित उमाशंकर र कौशल पनि भएकाले अब घटनाको वास्तविकताको छाविनमा उनीहरुसँग पनि सोधपुछ र बयान लिने कार्य हुनसक्छ । अब उनीहरुको बयानले पनि निकै महत्व राख्छ ।

सांसद सुरेन्द्र यादव अपहरणको आरोप लगाइरहेका छन् । तर, कसैको आरोपले मात्र त्यसको पुष्टि नहुने सक्छ । महेश, किसान र सर्वेन्द्र पनि अपहरण नगरेको दाबी गरिरहेका छन् । तर, दाबी गर्दैमा अपहरण नभएको पुष्टि नहुनसक्छ । यो घटनाको गहिरो अनुसन्धान भएमात्र सत्यतथ्य पत्ता लाग्छ ।

घटनामा दुई पक्षमा सुरेन्द्र यादव अपहरणको आरोप लगाइरहेको र महेशसहित तीनजना आरोप झुठो भएको बताइरहेको अवस्थामा उनीहरुसँग आएका अन्य व्यक्तिहरुको बयान महत्वपूर्ण हुने निश्चित छ । अपहरित हो भने सुरेन्द्र यादवसँगै आएका अरु पनि अपहरित भएको ठहर्न सक्छ । त्यसमाथि अंगरक्षक समेत भएकाले उनी पनि राज्यको निर्देशनमा अपहरणमा संलग्न भएको पुष्टि हुनसक्छ ।

दुवै पक्ष मानवअधिकार आयोग र सरकारी वकिलको कार्यालयसम्म प्रत्यक्ष अप्रत्यक्ष पुगिरहँदा यो घटनामा टकराव भने बढाएको छ । यो टकरावले राजनीतिमा समेत असर पर्ने देखिन्छ । घटनाको अनुसन्धान र छानविन गर्ने निकायबाट मात्र यसको सत्यतथ्य आउनसक्छ । आरोप प्रत्यारोपले कुनैपनि घटनाको वास्तविकता उजागर हुँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot