Logo

नेपालगञ्जमा कोरोना संक्रमण बढेपछि कर्णाली प्रदेश सिल



सुर्खेत, २२ बैशाख । छिमेकी प्रदेश प्रदेश ५ मा कोरोना संक्रमण एक्कासी बढेपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सात प्रदेशमध्ये हालसम्म कर्णालीमा मात्र संक्रमण देखिएको छैन ।

आइतबार नेपालगञ्जमा १५ जनामा संक्रमण देखिएको छ । धेरैमा संक्रमण फैलिएको आशंकापछि कर्णाली प्रदेशले प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशमा आवातजावत रोक्ने निर्णय गरेको हो ।

सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने निर्णय भएको बताए । प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने लागिएको ।
मन्त्री रावलका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी) समेत गर्नेछ । ‘आवश्यक परेको खण्डमा सोही ठाउँमा आइसोलेसन वार्डसमेत सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘परीक्षण र उपचारलाई सँगसँगै लगिनेछ ।’

सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताए ।

स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो । यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्