Logo

दाहाल-नेपाल गठबन्धन फेरि सक्रिय, ओलीको राजीनामा माग ब्युँताउनेबारे छलफल !



काठमाडौं, २२ बैशाख । शनिबारको सचिवालय बैठकपछि विवाद साम्य भएको भनिएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच आ आफ्नो गठबन्धनको भेला भैरहेका छन् । शनिबारको सचिवालय बैठकपछि उत्कर्षमा पुगेको विवाद एकाएक हल भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट समाधान भएको नेकपाका शीर्ष नेताहरुले निश्कर्ष निकालिरहेको अवस्थामा ओलीविरोधी गठबन्धन फेरि सक्रिय भएको छ ।

शनिबारको सचिवालय बैठकअघिसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन आज भेला भएका छन् ।

प्रवक्ता श्रेष्ठको हात्तिबनस्थित् निवासमा चार नेताहरु भेला भएको स्रोतको दाबी छ । अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि चार नेताहरु भेला हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आज अपरान्ह दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । उक्त भेटवार्तामा ओली सहमति कार्यान्वयन गर्न गम्भिर नभएको निश्कर्ष दाहालले निकालेको र सोहीअनुसार चार नेता भेला भएको बुझिएको छ ।

श्रेष्ठ निवासमा भएको आजको भेटवार्ताले यही बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा एक व्यक्ति, एक पदमा पार्टीलाई लैजानेबारे सहमति गरेको एक नेताले जानकारी दिए । भेलामा सहभागी ती नेताले भने, स्थायी कमिटीको बैठकमा गम्भिर रुपमा कुरा उठ्छ । हामीले एक व्यक्ति, एक पदमा पार्टीलाई लैजानुपर्छ भनेका छौं । उनले प्रधानमन्त्री ओलीको राजीनामाको च्याप्टर क्लोज नभएको पनि जिकिर गरे ।

आजैमात्र पनि बरिष्ठ नेता नेपालले आफू र दाहाल पक्षका स्थायी कमिटी सदस्यहरुसँग छुट्टै छलफल गरेका थिए । उता, पूर्व माओवादी केन्द्रका स्थायी कमिटी सदस्यहरु भने जनार्दन शर्माको ललितपुरस्थित् निवासमा भेला भएर रणनीति तयार पारेका थिए । बैशाख २५ गते बस्ने स्थायी कमिटीको छलफलको एजेण्डा तयार पार्ने जिम्मा पनि कार्यकारी अध्यक्ष दाहालले पाएका छन् । उनलाई महासचिव विष्णु पौडेलले सघाउने बुझिएको छ । दाहालमाथि स्थायी कमिटीको बैठकमा एक व्यक्ति, एक पदको अवधारणा अघि सार्न दबाब परेको छ । File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्