Logo

सरकारले सहयोग नगरे जेठबाट सबै होटल बन्द



काठमाडौं, बैशाख २३ । सरकारले वैशाखको अन्त्यसम्म पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने गरी केही राहत प्याकेज ल्याउन नसके जेठबाट सबै होटल बन्द गर्ने होटल संघ नेपाल (हान)ले बताएको छ। संघले श्रम ऐनको दफा १४५ को आधारमा होटल बन्द गर्न सक्ने बताएको छ।

हानको आइतबार भएको आकस्मिक छलफलबाट आगामी ६ महिनाका लागि होटल बन्द गर्न सक्ने निर्णय भएको र यस सम्बन्धमा सोमबार पर्यटन मन्त्रालयलाई जानकारी गराइएको उपाध्यक्ष विनायक शाहले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। बजेटको तयारी पनि भइरहेकाले बजेटबाट नै पर्यटन क्षेत्रलाई सम्बोधन गर्न आग्रह गरिएको बताइएको छ। कर्मचारीलाई वैशाखको तलव खुवाउने समय नजिकिएपछि होटल संघ सरकारलाई झकझकाउन सक्रिय रूपमा लागेको हो।

कोभिड १९ र लकडाउनका कारण आम्दानी शून्य भएकाले कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था छैन भन्दै शाहले सरकारलाई रोजगारी संरक्षण कोष खडा गर्न सुझाव दिइएको बताए। भ्रमण वर्षमा छुट्टाइएको रकम, १ प्रतिशत सामाजिक सुरक्षा कोषमा भएको रकमलगायत सरकारले कोषमा धनराशि जम्मा गर्न सक्ने शाहले बताए। होटललाई टिकाइ राख्न पनि सरकारले माग सुनुवाइ गर्नुपर्ने उनको भनाइ रहेको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्