Logo

१२ जनाको मृत्य कोभिड–१९ नभएको पुष्टि



महोत्तरी, बैशाख २३ । जिल्लाको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जनाएको हो ।

तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको हो । मृतकमध्ये भङ्गाहा–७ का सिकेन्द्र सिंह र सुकदेव महराको पिसीआर नतिजा पनि नेगेटिभ आइसकेको र आइतबार निधन भएका रुपनारायण सिंहको भने जाँच नतिजा आउन बाँकी रहेको सोमबार भङ्गाहा–७ मेघरोलमा आयोजित कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति गिरेन्द्रकुमार झाले बताएका छन् ।

बर्दिवास–१२ र भङ्गाहा–६ र ७ का जोडिएका बस्तीमा पछिल्ला ११ दिनभित्र १२ जनाको मृत्यु भएपछि गत शनिबारदेखि यहाँ स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य सङ्गठन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका दक्ष चिकित्सक टोली घटनाको कारण खोज्न अनुसन्धानमा व्यस्त छन् ।रासस



प्रतिक्रिया दिनुहोस्