पर्वत, बैशाख २३ । सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए । सोही विषयलाई लिएर महिलाले गाउँपालिकासँगै प्रहरी चौकीमा उजुरी दिइएकी थिइन् ।
उजुरीका आधारमा शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ। महिलालाई गम्भीर चोटपटक लागेको हुँदा उपचारका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ पठाइएको प्रहरीको भनाइ छ ।
त्रिवेणीका वडाध्यक्ष भीमसेन गुरुङका अनुसार महिलामाथि गम्भीर चोट लागेको पाइएको छ । स्थानीयवासी समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठूलो रूप लिन नपाएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।रासस