Logo

निष्क्रिय कर्जा र खर्च बढेपछि घट्यो सिभिल लघुवित्तको सञ्चालन मुनाफा तर खुद नाफा भने बढ्यो



२३ वैशाख : सिभिल लघुवित्त (CLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १६ लाख ३५ हजार रुपैयाँ बढी हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा भने घटेको छ। तर, विगतको खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा सामान्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ३९ लाख ८५ हजार रुपैयाँ बढेर ५ करोड ९२ लाख २४ हजार पुगेको छ। तर, लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८९ लाख ६५ रुपैयाँ घटेर ९३ लाख १८ हजारमा सीमित भएको छ।

गत आवको चैत मसान्तसम्ममा १.२९ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर २.६६ प्रतिशत पुगेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा अधिक रकम छुट्याउनु परेपछि लघुवित्तको सञ्चालन मुनाफा केही प्रभावित भएको हो। यसका साथै लघुवित्तको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च पनि बढेको छ। फलस्वरुप, खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेको हो।

तर, सो अवधिमा ९५ लाख ४८ हजार रुपैयाँ खराब कर्जा उठाउन लघुवित्त व्यवस्थापन सफल भएसँगै खुद नाफामा वृद्धि देखिएको हो।

११ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले चैत मसान्तसम्ममा ३८ करोड ४२ लाख ९७ हजार रुपैयाँ निक्षेप र ७३ करोड ४४ लाख ३५ हजार रुपैयाँ सापटीबाट १ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ६० पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ७०.३१ गुणा रहेको छ। मेरोलगानी



प्रतिक्रिया दिनुहोस्