काठमाडौं, २३ बैशाख । संघीय संसद सचिवालयको नवनियुक्त महासचिव डा.भरतराज गौतमले आज पदभार ग्रहण गरेका छन् । गौतमले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग सपथ खाएका छन् । गौतम हिजोमात्रै नियुक्त भएका हुन् । गौतमलाई सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गरेकी हुन् ।
गौतमले संसद सचिवालयमा २५ वर्ष सेवा गरेका छन् । २०५१ सालमा महान्यायाधिवक्ता कार्यालयमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका गौतम त्यसै वर्ष संसद सचिवालयमा शाखा अधिकृत भएका थिए । गौतम २०५९ सालमा उपसचिव, २०६३ सालमा सहसचिव र २०७५ साल असारमा सचिव बढुवा भएका थिए ।
संसद सचिवालयमा रहँदा गौतमले प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए । उनले राज्य व्यवस्था समितिको सचिव, पहिलो संविधानसभाको विधायन समिति सचिव, दोस्रो संविधानसभाको नागरिक सम्बन्ध समिति सचिव भएर काम गरेका छन् । गौतमले सचिवालयका विभिन्न महाशाखा र शाखामा रहेर काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट प्रशासनिक पुनर्संरचना विषयमा विद्यावारिधि गरेका गौतमले बीएल, गोल्डमेडलसहित जनप्रशासनमा एमए र प्रशासन तथा सांगठनिक सिद्धान्तमा एमफिल गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम