Logo

कुटपिटपछि नेकपाका युवा नेता निलम्बित



काठमाडौं, २३ बैशाख । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश (सिपी) घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाहीलाई निलम्बन गरिएको छ ।राष्ट्रिय युवा संघ नेपालले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी शाहीलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको हो ।

केन्द्रीय संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गत वैशाख १२ गते नेपाल कम्युनिस्ट पार्टी प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि जिल्ला संयोजक शाही नेतृत्वको समूहले आक्रमण गरी सख्त घाइते बनाएको भन्दै संघको अन्तरिम विधान २०७६ अनुसार सबै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख छ ।

नेकपा जिल्ला कमिटी, प्रदेश कमिटी र युवा संघका जाजरकोटस्थित केन्द्रीय सदस्यले निकालेको विज्ञप्तीलाई आधार मानेर निलम्बन गरिएको जनाइएको छ ।साथै घटनाको सत्यततथ्य छानविनका लागि पाँच सदस्यीय छानविन समिति समेत गठन गरिएको छ । संगठनको कार्यवाहक संयोजकको जिम्मेवारी सहसंयोजक भीम जिसीलाई प्रदान गरिएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्