२२ वैशाख : विश्वका केही ठाउँहरुमा लकडाउन अलिक खुकुलो बन्दै गएसँगै मंगलबार एशियाली शेयर बजारमा तीव्र वृद्धि देखिएको छ । यसैगरी इन्धनको माग बढ्ने अपेक्षासँगै तेलको मूल्यमा पनि उछाल देखिएको छ ।
मंगलबार अस्ट्रेलियाको एएसएक्स२०० सूचक १.२६ प्रतिशतले बढेको छ भने हङकङको हाङसेङ सूचकमा पनि ०.६६ प्रतिशतको बढोत्तरी देखिएको छ ।
यसैगरी अमेरिकी शेयर ०.७५ प्रतिशतले बढेको छ । एसएण्डपी ५०० सूचक ०.४२ प्रतिशतले बढेको छ ।
यसदिन एशिया–प्यासिफिक शेयरमा ०.५६ प्रतिशतको बढोत्तरी देखिएको छ ।
तेलको मूल्यमा उच्च बढोत्तरी
यसदिन ब्रेन्ट क्रुडको मूल्य ४.३ प्रतिशतले बढेर प्रतिब्यारेल २८.३७ डलरमा पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य १.३८ प्रतिशतले बढेर प्रतिब्यारेल २१.७७ डलरमा पुगेको छ । केही देशहरुले कोरोना भाइरसका कारण जारी लकडाउन केही खुकुलो बनाउन सुरु गरेको र कच्चा तेलको मागमा वृद्धि हुने अपेक्षासँगै तेलको मूल्यमा बढोत्तरी देखिएको हो ।
यद्यपी केही दिन पहिले उच्च मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य भने यसदिन घटेको छ । मंगलबार सुनको मूल्य ०.२ प्रतिशतले घटेर प्रतिऔँस एक हजार ६९९ डलरमा झरेको छ ।मेरोलगानी