Logo

पत्रकार न्यायाधीश बन्न थाले



नेपालको पहिलो र सबैभन्दा पुरानो अखबार गोरखापत्र आजबाट १२० वर्ष प्रवेश गरेको छ । वि. सं. १९५८ वैशाख २४ गते सोमबारबाट प्रकाशन सुरु भएको गोरखापत्र शताब्दी पार गर्ने दक्षिण एसियाका छवटा अखबारमध्ये एक हो ।

गोरखापत्र नेपाली भाषाको मानक, पत्रकारिताको गुरु र नेपाली समाजको जिउँदो इतिहास पनि हो । यो भाषा, कला, संस्कृति र साहित्यको संरक्षण गर्ने र समाज परिवर्तनको अगुवा आमसञ्चार माध्यम पनि हो । विज्ञापन, फोटो, कार्टुन प्रयोग गरेर नेपाली पत्रकारितालाई २१औँ शताब्दीसम्म ल्याइपु¥याउन यसको ऐतिहासिक योगदान रहेको छ । राष्ट्रभाषाको प्रमुख संरक्षक बनेको गोरखापत्रमा हाल ३८ भाषाका सामग्री प्रकाशन हुँदै आएका छन् । यो अहिले बहुभाषिक पत्रकारिताको बाहक बनेको छ । सुरुका दिनमा पत्रकार उत्पादन गर्ने विश्वविद्यालयका रूपमा रहेको गोरखापत्र हाल अनलाइन मार्फत देश विदेशका लाखौँ पाठक समक्ष पुगेको छ । ‘बहुजन हिताय, बहुजन सुखाय’ यसको मूल आदर्श हो । पत्रकारिताका सिद्धान्त अनुरूप शुद्ध, सन्तुलन, विश्वसनीय, शिष्ट, नैतिकवान्, स्वच्छ र उत्तरदायित्वलाई यसले आत्मसात् गर्दै आएको छ ।

सूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, उत्प्रेरित गर्नु, प्रमाणीकरण गर्नु, भाव सिर्जना गर्नु, साक्षी बस्नु र खबरदारी गर्नु पत्रकारिताका मुख्य उद्देश्य वा कार्य हुन्, यिनै कार्यलाई गोरखापत्रले शिरोधार्य गर्दै आएको छ । सञ्चारविद्का अनुसार पत्रकारिता पेसामा संलग्न व्यक्तिले समाज र राष्ट्रप्रति गहन जिम्मेवारी पाएको हुन्छ । सूचना वा जानकारीका माध्यमबाट जनतालाई सुसूचित गर्नु पत्रकारको मुख्य काम हो । पत्रकारले समाजमा भइरहेका वा हुन सक्ने घटनाबारे सत्यतथ्य जानकारी प्रदान गर्नुपर्छ । पत्रकारले कुनै पनि आस्थाभन्दा टाढा रहेर निष्पक्ष भई देश र जनताको हितमा कलम चलाउनुपर्छ । गोरखापत्र एउटा खबर मात्र होइन एक सय वर्ष पार गरेको जीवित सम्पदा पनि हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot