Logo

‘मिक्स इनर्जी’ अवधारणा



काठमाडौँ, २४ बैशाख । समृद्ध नेपाल, सम्पन्न नेपाली’ को नारा पूरा हुने क्षेत्रगत आधारको सिंहावलोकन गर्ने हो भने नेपालको जलसम्पदालाई प्रमुख आधार मान्न सकिन्छ । रातदिन बगेर जाने पानीलाई ‘सेतो स्रोत’ का रूपमा देशको आर्थिक विकास गरेका विश्वका कैयौँ मुलुकको उदाहरण हेर्दा यो सम्भव देखिन्छ ।

नेपालको जलविद्युत्को इतिहास एक शताब्दी नाघेको छ । यद्यपि अघिल्लो पुस्ताले प्रशस्त जलविद्युत्को उत्पादन गर्नेतर्फ चासो देखाएन । जलविद्युत् उत्पादन गर्ने भनेको बिजुली निकाल्ने मात्र होइन, उत्पादनशील क्षेत्रमा थप ऊर्जा दिई देशको आर्थिक विकासमा टेवा पु¥याउनु हो । तत्कालीन अवस्थामा ठूला सहर र उद्योगधन्दाको विकास नभएकाले बृहत्तर रूपमा जलविद्युत्को विकास गर्नेतर्फ ध्यान नगएको हुनसक्छ । अर्थात् विद्युत् सहरवासी सौविध्यका रूपमा ठानियो । २०४६ सालको परिवर्तनपछि गाउँ बस्तीमा मोटरबाटो पुगेसँगै भएको सहरबजारको विकास र उद्योगग्रामको स्थापनाले ऊर्जाको माग बढाएको पाइन्छ । फलस्वरूप ऊर्जा आयोजनाका योजना धमाधम निर्माण हुनुका साथै नयाँ ढङ्गले नीति निर्माण भई कार्यान्वयनका चरणमा गइरहेका छन् । यसलाई सकारात्मक र आवश्यकताको ‘मिलन घटना’का रूपमा लिनुपर्छ । पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा ऊर्जाको माग बढ्नु स्वाभाविक मानिएको छ । यद्यपि नाकाबन्दी तथा चुल्होचौकामा पकाउने बानीको परिवर्तनले ऊर्जाको माग गार्हस्थ्य क्षेत्रमा बढी भइरहँदा नेपालले ऊर्जाको माग र आपूर्तिको व्यवस्थापन गर्न भारतबाट समेत बिजुली खरिद गर्दै आइरहेको छ ।

यही कुरालाई प्राथमिकतामा राखेर नेपाल सरकारले पाँचवर्षे, दसवर्षे र १५ वर्षे लक्ष्य निर्धारण गरेर ऊर्जा विकासका लागि छुट्टै रणनीति, कार्यनीति तथा कार्ययोजना निर्माण गरेको छ । सरकारले जलविद्युत्, सौर्य, वायु तथा वैकल्पिक ऊर्जाको विकासलाई एकसाथ अगाडि बढाउने ‘मिक्स इनर्जी’ को अवधारणा अगाडि बढाउँदै आएको छ । नेपालले जलविद्युत्को विकास गर्न सके आन्तरिक खपत मात्र नभई बाहिरी मुलुकमा पनि निर्यात गर्न सक्ने प्रशस्त सम्भावना छ । यद्यपि जलविद्युत्को विकाससँगै भौगोलिक अवस्था तथा लागतका दृष्टिले अन्य वैकल्पिक ऊर्जाको स्रोतको सदुपयोग गर्ने नीति अनुरूप सरकारले मिक्स इनर्जीको अवधारणा कार्यान्वयनमा ल्याएको हो । सरकारले चालू आर्थिक वर्षको अन्त्य सम्ममा निजी क्षेत्रसहित एक हजार मेगावाट ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने महìवाकाङ्क्षी लक्ष्य लिएर काम बढायो । अतः यो वर्ष ऊर्जा विकासका लागि महìवपूर्ण आधार वर्षका रूपमा मानिएको समय हो ।

हाल भइरहेको पूर्व पश्चिम प्रसारण लाइन स्तरोन्नति गर्दै उत्तर दक्षिण नाकासम्म आन्तरिक प्रसारण लाइन तथा भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माणको सुरुवाती वर्ष पनि यही हो । ऊर्जा विकासको सपना बोकेर काम गरिरहेको नेपाललाई विश्वव्यापी रूपमा फैलिएको कोरोनाले प्रभावित पार्न थालेको छ । ऊर्जा आयोजनाका लागि काम गर्ने खास समय पुस महिनादेखि जेठको अन्तिमसम्म मानिन्छ । यही समयमा कोरोनाको सन्त्रास फैलिँदा ऊर्जा विकासका आयोजनाका काम पूर्णरूपले प्रभावित भएका छन् । काम सकिन थालेका आयोजना पनि निर्माणस्थलमा ताला लगाएर हिँड्नुपर्ने अवस्था आएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्