Logo

नेपाल एयरलाइन्स वैशाख ३० गते दक्षिण कोरिया उडान भर्ने



काठमाडौँ २४ वैशाख : निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता खड्काले जानकारी दिनुभयो । वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिल्ट ८ः४५ बजे काठमाडौँ अवतरण हुनेछ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार इपिएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमतिप्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो ।

मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा नेपाल एयरलाइन्सले चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । निगमले अष्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ ।

लकडाउन अवधिमा आठ अन्तर्राष्ट्रिय उडान गरेको नेपाल एयरलाइन्सलको वाइडबडी जहाजले पहिलोपटक चैत १६, २० र २४ गते चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्