Logo

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक हुने



काठमाडौँ, २४ वैशाख : नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।

निगमले यसअघि चीनको साङ्घाइ हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान शुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान शुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान शुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो ।

निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन । बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ । निगमले भने (शुरुको साङ्घाइ उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हँुदै आएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्