वैशाख २४, काठमाण्डौ । नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । जोखिम कम गर्न देशलाई लक डाउन गरिएको छ । तर लकडाउनका बेला परिक्षणको दायरा फराकिलो पार्न भने सरकार असफल भएको छ । अहिले त झन कोरोना परिक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री पनि अभाव हुन थालेको छ ।
कोरोना भाइरसको जोखिम कम गर्नका लागि सरकारले लकडाउन गरेको ६ हप्ता भइसकेको छ । यो अवधिमा कोरोनाको जोखिम त कम भयो तर सरकारले परिक्षणको दायरा फराकिलो बनाउन सकेन । पछिल्ला दिनमा त परिक्षणका लागि चाहिने सामग्री अभावका कारण समस्या परेको छ ।
सामाग्री नहुँदा परीक्षणको संख्यामा विगतका दिनभन्दा कम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । स्वास्थ्य सामग्रीको व्यवस्था गरेपछि परिक्षणले तीब्रता पाउने देवकोटाको भनाई छ ।
परिक्षण गर्ने किटको अभावमा संख्यामा कमी मात्रै होइन, कतिपय प्रयोगशालामा त काम नै ठप्प भएको छ । एकातिर दिनानुदिन संक्रमितहरु दोहोरो संख्यामा बढिरहेका छन् भने अर्कोतिर परिक्षण रोकिएको छ । नयाँ भाइरसको संक्रमण भएकाले नियन्त्रणका लागि विभन्न समस्याहरु आइरहेको स्वास्थ्य सेवा विभागका निर्देशक भोगेन्द्र राज डोटेल बताउँछन् । ऐन कानुनका कारण पनि कोरोना नियन्त्रणमा समस्या आएको डटेलको भनाई छ ।
स्वास्थ्य सामाग्री नल्याउन नसकेको भन्दै ओम्नी ग्रुपसँग सम्झौता रद्द गरेको स्वास्थ्य सेवा विभागले १ महिना नाघ्दासमेत थप स्वास्थ्य समाग्री ल्याउन सकेको छैन् । चैत १९ गते सम्झौता रद्द गर्दै तीन दिनभित्र टेण्डर आह्वान गर्ने र पाँच दिनमा सामाग्री ल्याउने विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको दाबी थियो ।
तर, एक महिना नाघ्दासमेत विभागले न ओम्नीलाई काम गर्न दियो न त अरु कम्पनीमार्फत नै थप स्वास्थ्य सामाग्री ल्याएको छ । विभागले करिब ३० करोड रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री खरिदका लागि ओम सर्जिकल, हाम्रो मेडी कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सम्झौता गरेको थियो । तीनवटै कम्पनीले आइतबारसम्म सामान बुझाइसक्नु पर्ने भए पनि काम गर्न असफल भइसकेका छन् ।
परिक्षण गति घट्यो
नेपालमा अहिलेसम्म कूल ६७ हजार ९६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९ सय ५१ वटा परीक्षण भएको छ । जबकी अघिल्ला दिनमा करिब २ हजार परिक्षण हुने गर्दथ्यो । हालसम्म १४ हजार ९६ जनाको पिसीआर परीक्षण र ५२ हजार ९ सय ७० जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ६३२८, प्रदेश दुईमा ५७९७, बागमति प्रदेशमा ८९४०, गण्डकी प्रदेशमा ६१९७, प्रदेश पाँचमा ५३३०, सुदूरपश्चिम प्रदेशमा १४,४०१ र कर्णाली प्रदेशमा ५९७७ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।