Logo

बेलायतमा कोरोनाबाट युरोपकै धेरै नागरिकको मृत्यु



बेलायत, बैशाख २४ । कोरोना भाइरसबाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ । बेलायतको सरकारी निकायको तथ्यांकअनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ ।

यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटालीभन्दा पनि धेरै हो । इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३०० रहेको छ । बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा यहाँका विदेशमन्त्री डोमिनिक राबले बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा बेलायती नागरिकको मृत्यु होला भन्ने नसोचेको बताएका छन् । उनले इतिहासमा यति धेरै व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नसोचेको समेत प्रतिक्रिया दिएका छन् ।
बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो । जुन बेलायतभन्दा कम छ । तर इटालीभन्दा बेलायतमा संक्रमण दर र मृत्यु दर पनि बढी रहेको देखिएको छ ।बेलायतमा परीक्षण दर पनि कम रहेको बताइएको छ ।

बेलायतमा आजसम्म १३ लाख ८३ हजार ८४२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको देखिएको छ । यसरी हेर्दा बेलायत विश्वमा कारोनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने देश अमेरिकापछिको दोस्रोमा रहेको पाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्